धुलिखेल- काभ्रे जिल्लामा प्रहरीले ठूलो मात्रामा गोली सहित ७  जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार  भदौ २८ र २९ गते खटिएको प्रहरी अधिकृतसहितको टोलीले खोजतलास गर्ने क्रममा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हाे ।

प्रहरीका अनुसार उनीहरुकाे साथबाट ७३० राउण्ड गोली फेला पारेको छ । अनुसन्धानका क्रममा बरामद भएको गोली गत भदौ २४ गते ई.प्र.का. बनेपामा आगजनी गरी लगिएको भन्ने प्रारम्भिक तथ्य खुलेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा परेका व्यक्तिहरुमा बनेपा नगरपालिका–९ का ३४ वर्षीय अछुत खड्का, २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुबास गौतम, बारा बनौली सखुवा–८ का २० वर्षीय महेश मुखिया (ईसाक), मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का २३ वर्षीय प्रविन कार्की रहेका छन्।

बरामद भएको गोली र नियन्त्रणमा परेका सात जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।