धुलिखेल- काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाका वडा अध्यक्षहरूले Gen-Z पुस्ताले चलाइरहेको आन्दोलनका क्रममा भएको क्षति र घटनाप्रति गहिरो दुःख प्रकट गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्।
भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दै भइरहेको आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूले आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी, लुटपाटप्रति खेद प्रकट गरेका छन्।
विज्ञप्तिमा धुलिखेल नगरपालिकाको मेयर अशोक ब्याञ्जु श्रेष्ठको घरमा गत भदौ २४ गते बेलुकी भएको आक्रमणप्रति आपत्ति जनाउँदै दोषीलाई छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
वडा अध्यक्षहरूले शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार भए पनि हिंसात्मक गतिविधि अस्वीकार्य हुने उल्लेख गर्दै सम्पूर्ण नागरिक र आन्दोलनमा संलग्न युवापुस्तालाई संयमता अपनाउन आग्रह गरेका छन्।
विज्ञप्तिमा आन्दोलनका क्रममा भएका क्षतिको छानबिन गरी दोषीलाई कारबाही गर्न र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न समेत सरकारसँग माग गरिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























