धुलिखेल- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ । मंगलबार बिहान धुलिखेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
गत साउन १० गते शनिबार बिहान नमोबुद्ध–२ बीसकिलोस्थित बीपी राजमार्गमा स्कुटर दुर्घटनामा परेका तिमल्सिना गम्भीर घाइते भएका थिए । नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको अर्को स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा तिमल्सिना गम्भीर घाइते भई तत्कालै धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । तर, लामो समयको उपचारका बाबजुद मंगलबार बिहान उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
तिमल्सिनाले स्थानीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी नमोबुद्ध नगरपालिकाको पहिलो कार्यकालका मेयर समेत बनेका थिए । मेयरका रुपमा उनले नगर विकास, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रका कार्यक्रमहरू अघि बढाएका थिए । उनको निधनले स्थानीय राजनीति मात्र नभई समाज सेवामा पनि ठूलो क्षति पुगेको स्थानीयवासीहरूले बताएका छन् ।
उनको पार्थिव शरीरलाई आजै अन्तिम श्रद्धाञ्जलीका लागि सार्वजनिक गरिने जनाइएको छ । पार्टीका नेता, कार्यकर्ता, स्थानीयवासी र शुभेच्छुकहरूले उनको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वमेयर तिमल्सिनाको निधनसँगै नमोबुद्ध नगरपालिकामात्र नभई काभ्रेपलाञ्चोक जिल्लाभर शोकको वातावरण छाएको छ । स्थानीय जनताले उनलाई इमानदार, मिलनसार र विकासप्रेमी नेताका रुपमा स्मरण गरेका छन् । उनी नेकपा (एमाले)का नेता हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।