नमोबुद्ध- काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका प्रथम नगरप्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाको शव श्रद्धाञ्जलीको लागि नगरपालिकामा राखिने भएको छ । शर्माको उपचारको क्रममा धुलिखेल अस्पतालमा मिति २०८२ साल असोज ७ गते बिहान ४ बजे उनको असामयिक निधन भएकोमा नगरपालिकामा श्रद्धाञ्जली सभा गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार आजै मिति २०८२/०६/०७ गते दिउँसो १२:१५ देखि १:०० बजेसम्म नमोबुद्ध नगरपालिका कार्यालयको प्राङ्गणमा पूर्वमेयर शर्माको पार्थिव शरीर सहित श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नगरपालिकाले उक्त कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, शुभचिन्तक तथा आम नगरवासीलाई उपस्थित रहन अनुरोध गरेको छ ।
स्थानीय तह घोषणा भएपछि निर्वाचित नगर प्रमुखका रुपमा नगर विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक क्षेत्रमा योगदान पुर्याएका शर्मा नगरपालिकाको पहिलो नेतृत्वकर्ता थिए । उनको निधनले नमोबुद्ध नगरपालिका मात्र नभई सम्पूर्ण काभ्रेपलाञ्चोक जिल्लालाई नै अपूरणीय क्षति पुगेको नगरवासीहरूले बताएका छन् ।
नगरपालिकाले जारी गरेको विज्ञप्तिमा शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।
शर्माको निधनले नमोबुद्ध नगरपालिका शोकमग्न बनेको छ भने विभिन्न दलका नेतादेखि स्थानीयवासीसम्मले उनलाई इमानदार, मिलनसार र जनमुखी नेताका रूपमा स्मरण गरेका छन्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।