काभ्रे । अविरल वर्षाका कारण विपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। लगातारको पानीसँगै गएको पहिरो र बाढीले राजमार्गका विभिन्न खण्डमा माटो र ढुंगामाटाको ठूलो थुप्रो जमेकाले सवारीसाधन आवागमन ठप्प भएको हो।

रोशी खोलाको उच्च बहावका कारण राजमार्गका थुप्रै भागहरू छेतविछेत बनेका छन्। कतिपय ठाउँमा सडक भासिनुका साथै पुल कमजोर भएका छन्। त्यसैले सम्बन्धित निकायहरूले यात्रु तथा चालकहरूलाई तत्काल वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका छन्।

पूर्वबाट र रामेछापबाट काठमाडौं आउँदै गरेका सवारीसाधनहरूलाई अब तेमालको बाटोमार्फत काठमाडौं पुग्न सकिने जनाइएको छ। वैकल्पिक मार्ग सित्खा पुल–रामेछापको लुभु–सिन्धुरेटार–तेमाल–९ को संगम स्थलको पुल–मुक्पाटार– म‌ैनाज्याङ – चोपटार–मेच्छे पौवा–चापाखुरी–नारायणस्थान–भकुण्डे हुँदै काठमाडौं सम्मको आवागमन गर्न सकिने व्यवस्था गरिएको तेमाल गाउँपालिका वडा ९ का अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिनुभएको हो।

सडक अवरुद्धका कारण यात्रुहरू अलपत्र परे पनि स्थानीय निकाय र सडक विभागका टोलीहरूले सडक मर्मत र पहिरो पन्छाउने कार्य निरन्तर गरिरहेका छन्। तर निरन्तरको झरीका कारण काममा कठिनाइ आइरहेको बताइएको छ।

गत वर्ष पनि रोशी खोलाको बाढीले विपी राजमार्गका थुप्रै भागहरू भत्काउँदा लामो समय यातायात अवरुद्ध भएको स्मरणीय छ। यस वर्ष पनि त्यही भयावह परिस्थिति दोहोरिँदै जाँदा स्थानीयहरूमा त्रास बढेको छ।

यद्यपि वैकल्पिक बाटो सञ्चालनमा आएसँगै यात्रुहरूले केही राहतको अनुभूति गरेका छन्। प्रशासन र स्थानीय निकायहरूले भने यात्रु तथा चालकहरूलाई अत्यधिक सतर्कता अपनाउन, आवश्यकबाहेक यात्रा नगर्न र जोखिमयुक्त स्थानमा सवारी रोकिन नदिने आग्रह गरेका छन्।

सन्देश: निरन्तर वर्षा भइरहेकाले सबै नागरिकलाई सुरक्षित रहन र जिम्मेवारीपूर्वक यात्रा गर्न अध्यक्ष चन्द्रबहादुर तामाङले  अनुरोध समेत गरिएको छ।

 

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।