धुलिखेल— मिति २०८२ असोज २२ गते सोमबार दिउँसो करिब १:३० बजे काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–६ दुलालथोकमा भएको बस र मिनि आइचर सवारी दुर्घटनामा आठ जना व्यक्ति घाइते भएका छन् । काठमाण्डौबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ जाँदै गरेको बा ५ ख ६८३ नम्बरको मिनि आइचरलाई ठक्कर दिँदा आइचर अनियन्त्रित भई करिब १५० मिटर अगाडि पुगेर सडकको दाहिनेपट्टि झण्डै १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

दुर्घटनामा दुबै सवारीमा सवार यात्रुहरु घाइते भएका छन् । घाइतेहरुलाई तत्कालै उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। आइचरमा सवार घाइतेहरूमा सिन्धुपालचोक चौतारा सागाचोकगढीका ३० वर्षीय रेशम थापा दुबै हातखुट्टामा चोट, काभ्रे बेथानचोक–४ का ४३ वर्षीय आईत लाल तामाङ ढाड र पेटमा भित्री चोट, झापाका ५८ वर्षीय लालबहादुर राई दाहिने हात र दुबै खुट्टामा चोट, चौतारा सागाचोकगढी–१ का ५८ वर्षीय शेरबहादुर तामाङ शरीरका विभिन्न भागमा चोट, ठेगाना नखुलेका २७ वर्षीय फुर्वा तामाङ सामान्य र भक्तपुर सूर्यविनायकका ५८ वर्षीय रामचन्द्र अधिकारी (आइचर चालक) घाटीमा भित्री चोट लागेका छन्।

बसमा सवार ११ जनामध्ये दुई जना घाइते भएका छन् । सिन्धुपालचोक बाह्रबिसे नगरपालिका–२ का ७० वर्षीय युक्तबहादुर खत्री र बलेफी गाउँपालिका–६ का ६६ वर्षीय गोपिलाल पराजुली दुबै सामान्य घाइते भई पाँचखाल पोलिक्लिनिकमा उपचाररत छन्।

दुर्घटनास्थलमा प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षक प्रशान्त तामाङको कमाण्डमा टोली खटिएको थियो। बस चालक भुम्लु गाउँपालिका–१ का २५ वर्षीय सुमन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइचर गाडी भने घटनास्थलमै रहेको र दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।