खानीखोला- काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले दीपावली २०८२ को अवसरमा परम्परागत संस्कृति र मौलिक पहिचानलाई संरक्षण र पुनर्जीवन गर्न सबै जनसमुदायमा हार्दिक अपिल जारी गरेको छ।

गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङले असोज २९ गते जारी विज्ञप्तिमार्फत सम्पूर्ण खानीखोला वासीलाई शुभ दीपावलीको मंगलमय शुभकामना व्यक्त गर्दै, सेतो र रातो माटोले घर–आँगन लिपपोत गर्ने पुरानो परम्परालाई पुनःस्थापना गर्न आग्रह गरेका हुन्  ।

विज्ञप्तिमा अध्यक्ष थिङले नेपाल विविध जाति, भाषा र संस्कृतिले भरिएको मुलुक भएकाले यहाँका परम्परागत मूल्य र सांस्कृतिक अभ्यासहरू नै हाम्रो पहिचान हुन् भन्ने उल्लेख गरेका छन् । उनले विगतका वर्षहरूमा दीपावलीको समयमा प्रत्येक घरमा सेतो र रातो माटोले आँगन सजाउने चलनले गाउँघरहरूलाई सौन्दर्य र एकताको प्रतीक बनाएको स्मरण गरे । तर आधुनिकतासँगै त्यो मौलिक चलन हराउँदै गएको भन्दै अध्यक्ष थिङले भनेका छन्, “विगतका जस्तै यस वर्ष पनि हामी सबैले आफ्नो घर आँगन सेतो र रातो माटोले लिपेर सांस्कृतिक पुनर्जागरणको सन्देश फैलाऔं।”

गाउँपालिकाले यस अभियानलाई सफल बनाउन स्थानीय बासिन्दा, सामाजिक संस्था, टोल विकास समिति र विद्यालयहरूलाई पनि सक्रिय सहयोग गर्न आग्रह गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।