मिलन दोङ तामाङ ✍️ 

क्वालालम्पुर (मलेसिया) — वैदेशिक रोजगारीका क्रममा मलेसियामा करिब ९ वर्षदेखि सम्पर्कविहिन रहेका सिन्धुपाल्चोक निवासी नेपाली श्रमिक रजिन तामाङ अन्ततः १४ वर्षपछि स्वदेश फर्किएका छन्।

अवैधानिक हैसियतमा वर्षौंदेखि बेपत्ता रहेका तामाङ फोहोर फाल्ने ठाउँमा सुत्दै र नजिकको मन्दिरमा चढाइएका खानेकुरा टिपेर गुजारा चलाइरहेका थिए। सो अवस्थाको जानकारी पाएपछि नेपाल आदिवासी जनजाती महासंघ मलेसिया का वरिष्ठ उपाध्यक्ष ङवाङ नुरि शेर्पाले उद्धारका लागि पहल गरेका थिए।

परिवार सम्पर्कमा नरहेको कारण आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत शेर्पाले रेकर्ड गरिएको भिडियो सार्वजनिक गरेपछि तामाङको परिवार फेला परेको थियो। परिवारका एक सदस्यले भने, “हामीले रजिन जीउँदै होलान् भन्ने आश नै मारिसकेका थियौं, तर धन्य उहाँ सकुशल हुनुहुन्छ।”

स्वदेश फर्किनुअघि तामाङलाई बस्नका लागि प्रवासी नेपाली समन्वय समिति (PNCC) मलेसिया का संयोजक पुर्णसुब्बा लिम्बुले सेल्टर हाउसको व्यवस्था गरिदिएका थिए।त्यस्तै, स्वदेश फर्किन आवश्यक पर्ने ‘ट्राभल डकुमेन्ट’ मलेसियास्थित नेपाली राजदूतावासले निशुल्क उपलब्ध गराएको थियो। अवैधानिक बसाइँका कारण तिर्नुपर्ने जरिवाना तथा हवाई टिकटको खर्च परिवारले बेहोरेको थियो भने आवश्यक सहयोग तथा सहजीकरण शेर्पाले नै गरेका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।