मिलन दोङ तामाङ ✍️
जोहोर(मलेसिया), १९ अक्टोबर २०२५ नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्रीय समिति जोहोर, मलेसियाद्वारा आयोजित “दोस्रो भौतिक बैठक तथा बृहत प्रशिक्षण कार्यक्रम” मिति १९ अक्टोबर २०२५ मा जोहोरमा भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष सन्तोष ठान्टीज्यूले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा महासङ्घ शाखा मलेसियाका पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार विपिन राईज्यू, विशिष्ट अतिथि अध्यक्ष पदमराज लिम्बुज्यू तथा अन्य विशेष अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई थप गौरवपूर्ण बनाएको थियो।
विशेष अतिथिहरूको सहभागिता
कार्यक्रममा विशेष अतिथिको रूपमा नेपाल तामाङ घेदुङ जोहोरका अध्यक्ष मंगोल तामाङज्यू, महासंघ शाखा मलेसियाका उपाध्यक्ष विक्रम तामाङज्यू, महासचिव संजीव तामाङज्यू, महिला उपाध्यक्ष देवीका राई (बिनु)ज्यू र केन्द्रीय सदस्य सागर लिम्बूज्यूलगायतका नेताहरू उपस्थित रहेका थिए।
त्यसैगरी विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधिहरू तथा मिडियाकर्मीहरूको उपस्थिति उल्लेख्य थियो।
संगठनात्मक प्रशिक्षण
कार्यक्रममा संगठनात्मक दक्षता र एकताको सन्देश दिने उद्देश्यका साथ विशेष प्रशिक्षण प्रमुख सल्लाहकार विपिन राईज्यूले सञ्चालन गर्नुभएको थियो। प्रशिक्षणले सहभागीहरूलाई नेतृत्व विकास, अधिकार र पहिचानका मुद्दा सशक्त रूपमा प्रस्तुत गर्ने मार्ग देखाएको आयोजक समितिको भनाइ छ।कार्यक्रमको सञ्चालन महासङ्घ जोहोरका सचिव सन्जु राईज्यूले गर्नुभएको थियो।
आयोजक समितिको भनाइ
आयोजक समितिका अनुसार, “यस प्रकारका कार्यक्रमहरूले प्रवासमा रहेका आदिवासी जनजातिहरूबीच आपसी एकता बलियो बनाउने, अधिकार र पहिचानका सवाललाई सशक्त बनाउने तथा समुदायलाई संगठित गर्ने उद्देश्य बोकेको छ।”