काठमाडौँ– कवि ईश्वर थोकरको नवौं कृति ‘आमा’ सार्वजनिक गरिएको छ । कवि थोकरले आफ्ना साथीहरूबीच एक साधारण कार्यक्रममार्फत आफ्नो नयाँ कवितासङ्ग्रह सार्वजनिक गरेका छन् ।

‘आमा’ शीर्षकको कवितासङ्ग्रहमा १४ वटा कविता समावेश गरिएको छ, जसमा कविले आमाप्रतिको निस्वार्थ माया, संवेदना र आत्मीयता अभिव्यक्त गर्नुभएको छ । कवि थोकरका अनुसार यो कृति शृङ्खला कवितासङ्ग्रह हो, जसका प्रत्येक कविता छोटा भए पनि भाव, सन्देश र संवेदनाको दृष्टिले गहिरा र उच्चस्तरीय छन् ।

वि.सं. २०४४ सालमा तेमाल गाउँपालिका–९, मुक्पा, काभ्रेपलाञ्चोकमा जन्मनुभएका कवि थोकर तामाङ र नेपाली दुवै भाषामा सिर्जनशील लेखन गर्दै आउनुभएको छ । उहाँका ‘पिङ्गाई’ (गजल सङ्ग्रह, २०६८), ‘प्लिक्सी’ (कविता सङ्ग्रह, २०६९), ‘नोरी’ (२०७४), ‘सिरिया’ (२०७५), ‘वाला सुइटर’ (संस्मरण सङ्ग्रह, २०७५), ‘ल्हुइला गोडमा’ (२०७६), ‘लीला’ (शृङ्खला कविता सङ्ग्रह, २०२१), ‘प्रेमको आदिम गीत’ (संयुक्त कविता सङ्ग्रह, २०२५) लगायतका कृतिहरू प्रकाशित छन् ।

त्यस्तै, उनले ‘याजी थोकरका बालकथाहरू’ (अनुवाद), द एसिया फाउन्डेसन (लेट्स रिड) र सिर्जनालयबाट प्रकाशित एक दर्जनभन्दा बढी बालकथाका पुस्तकहरू समेत अनुवाद गर्नुभएको छ ।

कविता र गजलका क्षेत्रमा सक्रिय कवि थोकरले ‘राष्ट्रिय भाषाका गजलहरू’ (२०६७, सम्पादन) र ‘चन्द्रमा भाग–२’ (२०८१, सम्पादन) समेत सम्पादन गर्नुभएको छ । उहाँलाई तामाङ साहित्य पुरस्कार २०७१ द्वारा सम्मानित गरिएको थियो ।

कवि थोकरको नयाँ कृति ‘आमा’ आमाको निस्वार्थ माया र मानवीय संवेदनाको शृङ्खलाबद्ध कवितामार्फत पाठकको मन छुने अपेक्षा गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।