काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४६ को शुभ अवसरमा देशभरका नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकताको सन्देश दिएका छन् ।
उनले आज जारी गरेका शुभकामना सन्देशमा नेपाल संवत् नेपालको ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गर्दै सबै जातजाति र समुदायहरूको साझा गर्वको विषय भएको बताएका छन् । नेपाल संवत् नेपाली जनताको आफ्नै मौलिक संवत् भएकाले यसप्रति सबै नेपालीले गर्व गर्नुपर्ने बताए ।
प्रचण्डले वि.सं. २०६५ सालमा सरकारको नेतृत्वका क्रममा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा घोषणा गरिएको र त्यसलाई थप संस्थागत गर्दै वि.सं. २०८० मा नेपाल सरकारका सबै दस्तावेजमा नेपाल संवत् लेख्ने निर्णय गरिएको स्मरण गरेका छन् ।
उनले अहिलेको राजनीतिक अवस्थालाई उल्लेख गर्दै लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता ऐतिहासिक उपलब्धिमाथि टेकेर मात्र राष्ट्र अगाडि बढ्न सक्ने बताउँदै लोकतन्त्रको ‘अग्रगामी सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता समाधान गर्न नसकिने बताएका छन् ।
देशलाई पुनः एकताबद्ध बनाउँदै समृद्धितर्फ अघि बढाउन सबै परिवर्तनपन्थी राजनीतिक शक्तिहरूबीच राष्ट्रिय एकता अपरिहार्य भएको बताउँदै उनले संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो अर्थमा शुभकामना हुने धारणा व्यक्त गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।