मिलन दोङ तामाङ ✍️ 

क्वालालम्पुर । गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया, नेपाली व्यवसायी संघ मलेसिया र आदिवासी जनजाति महासंघ मलेसियाले संयुक्त रूपमा इलाम जिल्लामा हालैको बाढी तथा अविरल वर्षाबाट प्रभावित परिवारहरूलाई आर्थिक सहयोग प्रदान गरेका छन्।

गत असोज १८ देखि २० गतेसम्म परेको लगातार वर्षाका कारण इलामका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको थियो। सोही विपदबाट प्रभावित स्थानीय बासिन्दाहरू लाई सहयोग स्वरूप देउमाई नगरपालिका, माङ्सेबुङ नगरपालिका र फाकफोकथुम गाउँपालिकाका बाढीपीडितहरूलाई राहत वितरण गरिएको हो।

संघका महासचिव प्रमोद शर्माका अनुसार, देउमाई नगरपालिकाका ६० घरधुरी, माङ्सेबुङ नगरपालिकाका १४ घरधुरी र फाकफोकथुङ गाउँपालिकाको १ घरपरिवार गरी कुल ७५ घरपरिवारलाई प्रति घरधुरी रु. ५,००० का दरले सहयोग गरिएको हो।

संघका पदाधिकारीहरू स्वयं क्षतिग्रस्त क्षेत्रमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए। स्थानीय बासिन्दा र नगरपालिका प्रतिनिधिहरूले गैर आवासीय नेपाली संघ मलेसिया प्रति धन्यवाद व्यक्त गरेका छन्।

उक्त राहत सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखा र नेपाली व्यवसायी समाज मलेसियाले समेत आर्थिक सहयोग संकलन गरी साथ दिएका थिए।

राहत रकम संघका अध्यक्ष इन्द्र नारायण लिम्बु, महासचिव प्रमोद शर्मा, उपाध्यक्ष बालध्वज लिम्बुलगायतको टोलीले इलाम पुगेर प्रत्यक्ष रूपमा बाढीपीडित परिवारहरूलाई हस्तान्तरण गरेको हो।

संघले भविष्यमा पनि यस्ता प्राकृतिक विपद्‌बाट प्रभावित नेपालीहरूलाई निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।