मिलन दोङ तामाङ ✍️
जोहर, मलेसिया-२६ अक्टोबर २०२५ — प्रवासी नेपाली समन्वय समिति (PNCC) र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को संयुक्त सहयोगमा सञ्चालित Outreach Program “MIRIDEW” अन्तर्गत मलेसियाको जोहर राज्यस्थित कुलाईमा “अनलाइन श्रम नवीकरण (Foreign Employment Information Management System – FEIMS)” सम्बन्धी सचेतनामूलक कार्यक्रम हिजो आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन पिएनसिसीका आउटरीच अफिसर सुरेन्द्र महतोले गर्नुभयो भने व्यवस्थापन तथा सहजीकरण राजु तामाङले गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न कम्पनीमा कार्यरत करिब ३५ जना नेपाली श्रमिक सहभागी भएका थिए। सहभागीहरूलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मार्फत श्रम नवीकरण गर्ने तरिका, आवश्यक कागजात, शुल्क, र कानुनी मान्यता प्राप्त माध्यमहरूको बारेमा विस्तृत जानकारी दिइएको थियो।
वक्ताहरूले अनलाइन श्रम नवीकरण प्रणालीले नेपाली श्रमिकहरूलाई पारदर्शिता, सहजता र सुरक्षा प्रदान गर्ने उल्लेख गर्दै, यसले दलाल र बिचौलियाबाट हुने ठगी रोक्न र दूतावाससँग प्रत्यक्ष समन्वय गर्न सहयोग पुर्याउने बताएका थिए।
पिएनसिसीका प्रतिनिधिहरूका अनुसार, मलेसियामा रहेका श्रमिकहरूबीच यस्ता सचेतनामूलक कार्यक्रमहरूले ठूला सकारात्मक प्रभाव पारिरहेका छन् र आगामी दिनहरूमा देशका विभिन्न राज्यहरूमा पनि निरन्तर सञ्चालन गरिने योजना रहेको छ।
सहभागीहरूले पनि FEIMS प्रणालीबारे जानकारी पाएपछि श्रम नवीकरणका क्रममा हुने समस्या घट्ने, समय र खर्च दुवै बचत हुने र यस्ता कार्यक्रमले प्रवासी नेपालीहरूलाई अधिकारबोध र सुरक्षित वैदेशिक रोजगारीमा सहयोग पुग्ने धारणा व्यक्त गरे।






















