काठमाडौँ– माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखिएका जटिल परिस्थिति, जनअपेक्षा र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रमाथि देखापरेका चुनौतीहरूको समाधानका लागि सबै माओवादी धारासहितका वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने आग्रह गरेका छन् ।
प्रचण्डले जारी गरेको आव्हान वक्तव्यमा भनेका छन्, “राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ।”
उनले देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको बताउँदै अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्ने साझा आन्दोलन हो।
उनले थप भने, “म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु। साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु।”
प्रचण्डको यो आव्हानलाई वर्तमान राजनीतिक परिस्थितिमा वाम शक्तिहरूबीचको सम्भावित एकता प्रयासको संकेतका रूपमा हेरिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























