भुम्लु- काभ्रे जिल्ला भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले हालसालै सामाजिक सञ्जालहरूमा आफ्नो र परिवारका तस्बिरहरू प्रयोग गरी फेक आइडीमार्फत फैलाइएको भ्रामक र दुर्नियतपूर्ण सामग्रीप्रति कडा आपत्ति जनाएका छन्।  सो कार्यले उनको व्यक्तिगत छवि, परिवारका सदस्यहरू, रिष्टे बासिका केही बालबालिका तथा सम्पूर्ण पालिकामाथि समेत नकारात्मक प्रभाव पार्ने उद्देश्य लिएको अध्यक्ष भुजेलले जनाएका छन् ।

अध्यक्ष भुजेलले गत कात्तिक ९ गते साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरिसकेको र आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्। उनले भने, “सामाजिक सञ्जालमा हाल फैलाइएका पोस्टहरू पूर्ण रूपमा निराधार, झूटो र असत्य छन्। म यसको सत्य तथ्य प्रमाणसहित प्रष्ट छु।”

उनका अनुसार ती पोस्टहरूमा प्रयोग गरिएका केही तस्वीरहरूमा एक चाइनिज नागरिक पनि देखिन्छन्, जो नेपालमा स्वयंसेवकका रूपमा चाइनिज भाषा कक्षा सञ्चालन गर्न आएका व्यक्ति हुन्। ती नागरिक चीनको हाइसाङ कल्चरल मिडिया, संघाइ संस्थाका कर्मचारी मिस्टर ओदेमो भएको बताइएको छ। अध्यक्ष भुजेलले सो कार्यमा “आई.एस.भी.जी. नेपाल” सँग समन्वय गरी भुम्लु–१, रिष्टे स्थित सेतीदेवी माध्यमिक विद्यालयमा अतिरिक्त समयमा चाइनिज भाषा कक्षा सञ्चालनको व्यवस्था मिलाएको बताएका छन्।

उक्त चाइनिज नागरिक र उनको टोलीले गरिब, अनाथ तथा विपन्न बालबालिकाका लागि सहयोगात्मक कार्यहरू गर्दै आएका र आफ्नो कार्य पारदर्शी बनाउन प्रायः समय टिकटकमार्फत लाइभ प्रसारण गर्ने गरेको पनि अध्यक्ष भुजेलले स्पष्ट पारेका छन्।

तर, भुजेलका अनुसार हाल ती तस्वीरहरू र भिडियोहरूमा AI प्रविधि प्रयोग गरी परिमार्जन गरेर गलत सन्देश फैलाउने प्रयास भइरहेको छ। उनले जनतामा आग्रह गर्दै भनेका छन् — “यस्ता झूटा पोस्ट, भिडियो वा फोटोहरूमा Like, Share वा Comment नगर्नुहोस्। यस्ता सामग्री देख्नासाथ Report वा Delete गर्नुहोस्। सत्य जानकारीबिना नकारात्मक धारणा नबनाउन र नफैलाउन सबैलाई अनुरोध गर्दछु।”

अध्यक्ष भुजेलले यस्ता भ्रामक गतिविधिले व्यक्तिको जीवन र प्रतिष्ठामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्। साथै, यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई निरुत्साहित गर्नुपर्ने र सत्य पक्षमा रहन सबै भुम्लुवासीलाई आग्रह गरेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।