धुलिखेल– काभ्रेपलाञ्चोक जिल्लामा आगामी केही दिनसम्म निरन्तर वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कात्तिक १२ गतेदेखि १४ गते शुक्रबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको र यस अवधिमा पहिरो, बाढी तथा विपद् जोखिम बढ्ने भन्दै प्रशासनले ‘सावधानी अपनाउन’ आग्रह गरेको हो।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बाढी, पहिरो र यायात अवरोध हुन सक्ने भएकाले अनावश्यक यात्रा नगर्न र उच्च स्थान तथा सुरक्षित क्षेत्रमा बसोबास गर्न अनुरोध गरिन्छ।”

विज्ञप्तिमा आगामी तीन दिनसम्म जिल्लाका नदी–नालामा पानीको सतह बढ्न सक्ने, पहाडी तथा भिरालो क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन, स्थानीय तहका विपद् व्यवस्थापन समितिहरू सर्तक अवस्थामा रहन र आवश्यक तयारी गर्न निर्देशन दिइएको छ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस, स्वयंसेवक तथा अन्य सम्बन्धित निकायहरूलाई उद्धार र राहतका लागि तयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ।

जिल्ला प्रशासनले सबैलाई अफवाहमा नफस्न र आधिकारिक निकायको सूचनालाई मात्रै आधार मान्न आग्रह गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।