धुलिखेल– बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–८ स्थित चारसयबेँसीमा रहेकाे नाङसाल क्रसर उद्याेगकाे खानीमा निरन्तर सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो पन्छाउने र डाइभर्सन निर्माणको काम भइरहेको भए पनि हालसम्म राजमार्ग सुचारु हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार राजमार्गका विभिन्न स्थानमा लेदो र पहिरो पन्छाउने कार्य सम्पन्न भए पनि चारसयबेँसीमा सुक्खा पहिरो लगातार झरिरहेकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। “चारसयबेँसीमा पहिरो स्थिर नभएकाले अहिले डाइभर्सन निर्माणको काम भइरहेको छ,” विष्टले बताए, “डाइभर्सन निर्माण सम्पन्न भएपछि मात्र राजमार्ग सुचारु हुनेछ।”

नाङसल क्रसर नेपाली काँग्रेसका जिल्ला सभापति तथा वागमती प्रदेश सभा सदस्य सांसद तिर्थ लामाकाे स्वामित्वमा रहेकाे छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार बिहीबारदेखि परेको अविरल वर्षाका कारण चौकीडाँडा, डालाबेँसी, नार्के, चारसयबेँसी र घुमाउनेलगायतका स्थानमा ढुंगा र लेदो सहितका पहिरो खसी सडक पूर्ण रूपमा अबरुद्ध भएका थिए। अन्य स्थानमा लेदो पन्छाइए पनि चारसयबेँसी खण्डमा सुक्खा पहिरो निरन्तर खसिरहेकोले आवागमन सञ्चालन गर्न नसकिएको उनले बताए।

गत वर्ष असोजमा समेत बिपी राजमार्गका विभिन्न स्थानमा अविरल वर्षाले सडक बगाएको थियो। त्यसबेला अस्थायी डाइभर्सन निर्माण गरी राजमार्ग सञ्चालनमा ल्याइएको थियो। तर गत असोजमा आएको बाढीले ती डाइभर्सनहरू पनि क्षति पुर्‍याएको थियो। यसपटक भने बाढीले सडक बगाएको छैन, तर सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको हो।

प्राधिकरणका अनुसार आइतबारसम्म पहिरो रोकिएमा सडक खुलाउने प्रयास पुनः सुरु गरिनेछ। हाल राजमार्ग सुचारु नभएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई अनुरोध गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।