काठमाडौं ।  तिब्बती बौद्ध दर्शन र तान्त्रिक साधनाका महान् योगी मिलारेपा, जसले पाप, पश्चात्ताप र मुक्ति बीचको रहस्यमयी यात्रालाई जीवनकै सत्य बनाए — अब उनी रंगमञ्चमा पुनर्जन्म लिन लागेका छन्।
मिलारेपाको यही आध्यात्मिक जीवनकथामा आधारित नाटक ‘मिलारेपा’ भोलीदेखि काठमाडौंको मण्डला नाटकघरमा नियमित रूपमा मञ्चन हुने भएको छ।

आईतबार विशेष प्रदर्शन गरिएको यो नाटक मङ्गलबारदेखि हरेक दिन (सोमबार बाहेक) साँझ ५:३० बजे र शनिबार दिउँसो १ बजे मञ्चन गरिनेछ। नाटक कार्तिक १८ गतेदेखि मंसिर २१ गतेसम्म चल्नेछ।

बौद्ध तान्त्रिक धर्ममा मिलारेपा एक शक्तिशाली युगगुरुका रूपमा परिचित छन् — जसले तन्त्रमार्फत आत्मपरिवर्तन र मुक्ति प्राप्तिको बाटो देखाएका थिए। उनले संसारलाई देखाएका शिक्षाहरू आज पनि धर्ममार्गीहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। यही गहिरो आध्यात्मिकता र तान्त्रिक दर्शनलाई नाटकले कलात्मक ढंगले उजागर गरेको छ।

नाटकको लेखन चाङ् ङ्योन हेरुकले गरेका हुन् भने निर्देशन बुद्धि तामाङ र उमेश तामाङले गरेका छन्। नाटकको संयोजन गुरु कोशिस लोब्साङ वाईबाले गरेका हुन् र नाट्य रुपान्तरण रविन तामाङले तयार पारेका हुन्।

रुपेश लामाले मिलारेपाको भूमिका निर्वाह गरेका छन् भने उनीसँगै रमिला मोक्तान, विकाश लामा, सानु माया तामाङ, रस्मिला तामाङ, रिया लामा, बुजय तामाङ, बलबहादुर राई, निलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुस्कर कार्की, विश्य स्याङ्बो, सबिता थिङ, सुनिता तामाङ दोङ, सुदिप खतिवडा, विजय ट्युबा, रत्न मंगल, टासी लामा, अजय लामा, पवन कुमार गोले र सबिता तामाङ लगायतका कलाकारहरूले सशक्त अभिनय गरेका छन्।

नाटकको संगीत आदित्य कटुवालले परिकल्पना गरेका हुन् भने स्वरमा आनि छोइङ डोल्मा, सरेश लामा र शुभलाल ग्लान तामाङले आत्मीयता भरिदिएका छन्। नृत्य, संगीत र संवादको समायोजनले नाटकलाई भावनात्मक र तान्त्रिक अनुभूति दिने गरी प्रस्तुत गरिएको छ।

मिलारेपाको जीवनसन्देश — “अहंकारको अन्त्य नै मुक्ति हो” — लाई नाटकले कलात्मक दृश्यमा रूपान्तरण गरेको छ। आयोजकका अनुसार दर्शकहरूले यस नाटकबाट आत्मशुद्धि, क्षमा, साधना र ज्ञानप्राप्तिको महत्व गहिरो रूपमा अनुभव गर्नेछन्।

‘मिलारेपा’ केवल नाटक होइन, यो तान्त्रिक दर्शन, धर्म र कलाको संगम हो — जसले आधुनिक समाजलाई आत्मपरीक्षण र आध्यात्मिक चेतनाको दिशामा सोच्न प्रेरित गर्छ।

 

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।