काभ्रे- चौंरीदेउराली गाउँपालिका–७, मादन निवासी नेकपा (एमाले) का नेता जीतराम तामाङले लामो समयसम्मको राजनीतिक यात्रालाई विराम दिँदै नयाँ राजनीतिक शक्ति उज्यालो नेपालमा आबद्ध हुने घोषणा गरेका छन्।

तामाङले शुक्रबार सामाजिक सञ्जालमार्फत एक भावनात्मक अभिव्यक्तिद्वारा आफूले झण्डै ३५ वर्ष लामो कम्युनिष्ट आन्दोलनमा बिताएको जीवनयात्राबाट औपचारिक बिदा लिने निर्णय गरेको जानकारी दिएका हुन्।

उनका अनुसार, अनेरास्ववियु, प्रज्ञा परिषद् (प्ररायुसंघ) र विभिन्न जनसंगठनमा सक्रिय रहँदै गाउँ कमिटीदेखि जिल्ला तथा केन्द्रीय तहसम्म जिम्मेवारी सम्हाल्ने अवसर उनले पाएका थिए।

तर पछिल्लो समय पार्टी नेतृत्वले “युवा पुस्ताको भावना बुझ्न नसकेको र बदलिँदो यथार्थ आत्मसात गर्न असफल भएको” आरोप लगाउँदै तामाङले एमाले परित्याग गर्ने निर्णय लिएका हुन्।

उनले भनेका छन्, “पार्टी नेतृत्वले जेन-जी पुस्ताको सोच र परिवर्तनको लहर बुझ्न नसक्दा जनताको भावना अनुरूप काम गर्न नसकिने ठहर गर्दै म पार्टी छोड्ने निर्णयमा पुगेको छु।”

तामाङले अब मुलुकको समृद्धि, सुशासन र उज्यालो भविष्यका लागि नयाँ वैकल्पिक शक्ति उज्यालो नेपाल पार्टीमा आबद्ध हुने घोषणा गरेका छन्। उक्त पार्टी हाल कुलमान घिसिङको नेतृत्वमा गठनको तयारीमा रहेको छ।

उनले आफ्ना सन्देशमा भनेका छन्, “अब मुलुकको समृद्धि, सु-शासन र नेपाली जनताको उज्यालो भविष्यका लागि नयाँ मूल राजनीतिक शक्तिको रूपमा गठन हुन लागेको उज्यालो नेपाल पार्टीमा जोड्ने सोच बनाएको छु।”

२०७९ सालको स्थानीय तह निर्वाचनमा तामाङ एमालेको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका थिए। सो निर्वाचनमा उनी माओवादी केन्द्रकी उम्मेदवार रेणुका चौंलागाईसँग पराजित भएका थिए।

संगठनगत अनुभव र जनसम्पर्क भएका नेताको प्रस्थानले नेकपा एमाले काभ्रेलाई ठूलो संगठनात्मक क्षति पुर्‍याएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।