मण्डनदेउपुर- काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा शुक्रबारबाट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादे श्रेष्ठले गरेका थिए ।
नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत गरी १७ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा १३ सामुदायिक र ४ संस्थागत विद्यालय प्रतिस्पर्धामा उत्रिएका छन्। भलिबल, कबड्डी, एथ्लेटिक्ससहित १८ विधामा २२२ पदकका लागि खेलाडीहरू बीच प्रतिस्पर्धा हुनेछ।
वडा नम्बर ११ को डाँडागाउँस्थित खेलमैदानमा सुरु भएको प्रतियोगिता आगामी आइतबारसम्म सञ्चालन हुनेछ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बादेले खेलले छात्र-छात्रामा अनुशासन, मर्यादा र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउने उल्लेख गर्दै मर्यादित भएर खेल्न आग्रह गरे । साथै उनले नगरपालिका स्तरीय खेल मैदान निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगरप्रमुख टोक बहादुर वाइबाले शिक्षा र खेलकुदमा नगरपालिकाले गरेको लगानीले प्रतिफल दिन सुरु गरेको बताउँदै खेलकुदलाई विशेष प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए ।
उपप्रमुख विष्णुमणि नेपालले व्यवस्थित खेलमैदानको अभावले ठूला प्रतियोगिता सञ्चालनमा चुनौती रहेको बताउँदै आगामी दिनमा पूर्वाधार विकासलाई तीव्रता दिने आवश्यकता रहेको बताए ।
सामाजिक विकास समितिका संयोजक तथा वडा अध्यक्ष निरञ्जन विष्टको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, खेलकुद प्रशिक्षक, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















