धुलिखेल- काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ बेला स्थित बीपी राजमार्गको सडकखण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । धुलिखेलबाट भकुन्डेबेशी तर्फ जाँदै गरेको बा.प्र. ०१–०२८ च २०४४ नम्बरको EV कारको टाइरेट अचानक भाँचिँदा सवारी अनियन्त्रित बनेर विपरीत दिशाबाट आइरहेको बा ४ ख ८२४० नम्बरको यात्रुबाहक बससँग ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटना आज अन्दाजी १२:२० बजे भएको हो । ठक्करका कारण कारमा रहेका दुईजना यात्रु घाइते भएका छन् । उनीहरूलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल काभ्रेमा पठाइएको प्रहरीले जानकारी दिएको छ। कार घटनास्थलमै क्षतिग्रस्त अवस्थामा रहेको र बसमा सामान्य क्षति पुगेको छ ।
घाइतेहरूमा मोरङ बेलवारी नगरपालिका–१ बस्ने ४१ वर्षीय कार चालक सल बहादुर धिमाल रहेका छन् । उनको दुवै हात र खुट्टा चोट लागेको र अवस्था मध्यम रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।
त्यसैगरी, सिराहा सुखीपुर नगरपालिका–१० बस्ने २२ वर्षीय सुनिल कुमार महत्तो पनि घाइते भएका छन्। उनको टाउकोमा चोट तथा दायाँ हातको कुममा भित्री चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस चालक रामेछाप मन्थली नगरपालिका–७ घर भई हाल भक्तपुर चाँगुनारायणमा बस्ने ३९ वर्षीय उदय बहादुर मगरलाई प्रहरीले आवश्यक कारबाहीका लागि काभ्रे प्रहरीको नियन्त्रणमा राखेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















