मिलन दोङ तामाङ ✍️ 

काभ्रे- नमोबुद्ध नगरपालिका–६ मेदाम्सु निवासी कमला मोक्तानलाई आकस्मिक रूपमा कलेजो प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक अभावका कारण उपचार कठिन बनेको परिवारको अनुरोधअनुसार नेपाली जनसम्पर्क समिति मलेसियाले सहयोग प्रदान गरेको छ। जना सम्पर्क समिति मलेसियाका सदस्य मिलन दोङ तामाङको पहलमा समितिले कमलाको उपचारका लागि १६ नोभेम्बरका दिन रु. २३,३००/- रकम सोही बिरामिकी खातामा जम्मा गरिदिएको छ।

यस्तै, तिलोत्तमा–७, रुपन्देहीका १६ वर्षीय शुभम उपाध्याय ज्ञवाली, दुर्लभ तथा गम्भीर रोग Hemophagocytic Lympho-histiocytosis (HLH) बाट पीडित भई भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युटमा उपचाररत छन्। एक किशोरको जीवन सङ्घर्ष र परिवारको पीडालाई मनन गर्दै एनआरएनए मलेसियाको अध्यक्ष राकेश प्रसाद महतोको पहलमा शुभमको उपचारका लागि हाल संकलित रु. १०,२६०/- रकम पनि अभिभावकको खातामा पठाइएको जनाएको छ।

उक्त दुवै सहयोग नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीको समन्वय तथा सह–कोषाध्यक्ष इन्द्रप्रकाश भण्डारी तथा प्रभक्त सरोज दहालको सक्रियतामा सम्पन्न भएको हो। समितिले यो कार्यलाई सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपूर्ण कदमका रूपमा लिएको छ।

सभापति पंगेनिका अनुसार,“आपत–विपतको घडीमा सबै नेपाली एक–अर्काको साथमा छौं भन्ने भावनाको प्रतीक यो सहयोग हो। सामूहिक सहकार्यले बिरामीहरूको मनोबल मजबुत बनाउन सक्छ।”

समितिले दुबै बिरामीको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबै मनहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।