काठमाडौै– महिला स्वास्थ्य तथा मानसिक सशक्तिकरणलाई प्राथमिकता दिँदै आयोजना गरिएको “कस्तो छ साथी?–भाग २” कार्यक्रम शनिबार काठमाडौँको गौशालास्थित अनुपम फुड ल्याण्डमा सम्पन्न भएको छ। लायन्स अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ आइ नेपाल, एरिया–२ अन्तर्गत रिजन ३ र ४ का सबै जोन तथा क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मेनोपोजका शारीरिक तथा मानसिक पक्षबारे विस्तृत छलफल गरिएको थियो।

एरिया–२ की कोअर्डिनेटर मेघा तिमल्सिनाको संयोजकत्वमा कार्यक्रम बिहान ११ बजे सुरु भई दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा डिष्टिक्ट गभर्नर पार्वती खरेल पाण्डे मुख्य अतिथि रहँदै सहभागी भएकी थिइन्। त्यस्तै मल्टिपल डिष्टिक्ट कोअर्डिनेटर मनबहादुर रोक्का, प्रथम भाइस डिष्टिक्ट गभर्नर सूर्य कुमार केसी, पूर्व डिष्टिक्ट गभर्नर इन्दु लम्साल, एलसिआइएफ कोअर्डिनेटर अनिता थापा बिष्ट, जिएसटी कोअर्डिनेटर केदार न्यौपाने लगायत क्याबिनेट सदस्य, लायन्स तथा गैर–लायन्सको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्रोत व्यक्तिको रूपमा नर्भिक अस्पतालकी प्रा. डा. अचला वैद्यले महिलाको रजोनिवृत्तिका शारीरिक परिवर्तन तथा स्वास्थ्य पक्षबारे महत्वपूर्ण प्रस्तुती दिइन्। त्यस्तै पीएचडी स्कलर तथा मनोवैज्ञानिक डा. पदम राज जोशीले मेनोपोजका कारण मानसिक अस्थिरता निम्तिन सक्ने सम्भावना, तनाव व्यवस्थापन तथा मानसिक सन्तुलन कायम राख्ने उपायबारे विस्तृत अभिमुखीकरण गरे।

होमो हेल्थकी संयोजक तथा कार्यक्रम सञ्चालिका सुरक्षा कुँवरको विशेष समन्वयमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रमको आकर्षणको रूपमा रजोनिवृत्तिका समस्या र अनुभवलाई आधार मानेर तयार गरिएको नाट्य प्रस्तुती समेत गरिएको थियो, जसले सहभागीमध्ये सचेतना र सहानुभूति दुवै बढाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा मेनोपोजका लक्षण, यसको दीर्घकालीन प्रभाव, शारीरिक तथा मानसिक स्वास्थ्य संरक्षणका उपाय, तथा समर्थन प्रणाली विकासबारे सहभागीबीच खुला छलफल गरिएको थियो। आयोजकहरूले यस्ता कार्यक्रमले महिलाको स्वास्थ्य सचेतना वृद्धि तथा मानसिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।