रोशी गाउँपालिका–१२, शिखरपुर।
रोशी–१२ शिखरपुरमा निर्माण हुने ‘साङ्दोपालरी’ बौद्ध शिक्षा भवन (बौद्ध शिक्षा स्कुल) को शिलान्यास शनिबार एक विशेष र उत्साहपूर्ण समारोहका बीच सम्पन्न भयो। स्थानीयको उल्लेखनीय सहभागितासहित सम्पन्न कार्यक्रममा क्षेत्रको धार्मिक शिक्षा, संस्कृति र विकासप्रति गहिरो प्रतिबद्धता झल्किएको थियो।
गाउँपालिका अध्यक्ष दिनेश लामा मुख्य अतिथि रहेका समारोहमा उनले परियोजना कुनै पनि हालतमा अधुरो नछोडिने दृढ प्रतिवद्धता व्यक्त गरे। सबै वडामा क्रमशः बौद्ध शिक्षा स्कुल स्थापना गर्ने दीर्घकालीन योजनासमेत उनले स्पष्ट पारे।
बागमती प्रदेश योजना आयोगका सदस्य गुणराज मोक्तान ले प्रदेश सरकारको अनुदानमा रोशी गाउँपालिकामार्फत परियोजना अघि बढ्ने बताए। प्रत्यक्ष गुम्बा निर्माणका लागि बजेट विनियोजन चुनौतीपूर्ण रहेकाले क्षेत्रीय आवश्यकता अनुसार ‘बौद्ध शिक्षा स्कुल’ को अवधारणा अघि सारिएको उनले उल्लेख गरे।
वडा अध्यक्ष बसन्त कुमार तामाङ ले वडाभित्र लामो समयदेखि खाली रहेको जग्गा धार्मिक र शैक्षिक उद्देश्यमा सदुपयोग हुन लागेकामा खुशी व्यक्त गर्दै योजनालाई सफल बनाउन निरन्तर साथ दिने आश्वासन दिए।
लामा गुरु पेमा दोर्जे मोक्तान ले बुद्ध धर्म विश्वभर फैलिएको २५६१ वर्ष पछिको सन्दर्भ कोट्याउँदै, शिखरपुर ध्यान–तपस्या र बौद्ध अध्ययनका लागि आदर्श स्थान भएकाले परियोजना सफल हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा गायक चन्द्रकुमार मोक्तान ले “तपाईं हाम्रो भेट भको…” बोलको गीत प्रस्तुत गर्दै समारोहलाई झनै माहोलमय बनाए।
नेपाल तामाङ घेदुङका संघीय सदस्य बिलाम मोक्तान ले चिहानडाँडाको पवित्र भूमिमा गुम्बा शिक्षा भवन स्थापना हुनु सामूहिक सपनाको पूर्ति भएको बताए। फरक राजनीतिक ध्रुवीकरणभन्दा माथि उठेर समुदाय विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
सिन्धुली, सुनकोसी–१ का जनप्रतिनिधि छेडुप मोक्तान ले क्षेत्रको द्रुत विकासप्रति खुशी व्यक्त गर्दै शुभकामना दिए।
स्थानीय श्री गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक तीर्थलाल मोक्तान ले शुभकामना मन्तव्य राखे भने समितिका तर्फबाट पेमा वाङ्ज्यु मोक्तान ले स्वागत मन्तव्य प्रस्तुत गरे।
कार्यक्रममा सहभागी अन्य विशिष्ट अतिथिहरूमा गाउँपालिका शिक्षा प्रमुख ठाकुरप्रसाद दाहाल,पोखरा विमानस्थलका अधिकृत विजय मोक्तान,पूर्व वडाअध्यक्षहरू,जेष्ठ नागरिक लक्ष्मण लामा,शिक्षक प्रदीप मोक्तान,गायक शिखर मोक्तान,समाजसेवी सुदिप भोम्जान,समाजसेवी तुलाराम मगर लगायत स्थानीय अगुवाहरूको उपस्थिति उल्लेखनीय थियो।
कार्यक्रमको अध्यक्षता देबराज मोक्तान ले गरेका थिए, भने सञ्चालन बिजबहादुर भोम्जान ले गरेका थियो।
शिखरपुरको धार्मिक–शैक्षिक यात्रामा ‘साङ्दोपालरी’ बौद्ध शिक्षा भवन एक महत्वपूर्ण माइलफलक बन्ने अपेक्षा गरिएको छ।






















