काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्रका क्रान्तिकारी कम्युनिस्ट नेताहरूसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले एमाले भित्रका वामपन्थी र क्रान्तिकारीहरूलाई विद्रोह गर्न आग्रह गरे ।
प्रचण्डले एमालेतर्फ लक्षित गर्दै भने– ‘त्यहाँ छन् वामपन्थी । त्यहाँ छन् देशभक्त । हजारौँ उकुसमुकुस छन् । हामी छलफलमा छौँ । तपाईंसँग सँगै हातेमालो गर्न चाहेका छौँ । गलत प्रवृत्ति र नेतृत्व भयो भने कति क्षति हुँदो रहेछ हामीले देखेका छौँ । एमालेभित्र रहेका इमानदार वामपन्थीहरू देशभक्त कमरेडहरू तपाईंहरु फेरि एक पटक इतिहासप्रति समीक्षा गर्नोस्’, उनले भने ।
एमालेसँग विगतमा एकता गरे पनि गलत नेतृत्वको कारण निकै अप्ठ्यारो परेको प्रचण्डले भने ।
उनले भने– ‘हामीले एकता गरेकै थियौँ तर नेतृत्व गलत मान्छेको हातमा पर्दा के–के भोग्नुपर्यो ? समय आएको छ । हामीलाई विश्वास छ, त्यहाँभित्रका इमानदार, देशभक्त र क्रान्तिकारी साथीहरूले सत्यको पक्षमा आवाज उठाउन थालिसक्नुभयो । त्यो आवाज अब दब्ने पक्षमा छैन । दिन प्रतिदिन आवाज अगाडि बढ्नेछ । बृहत् वामपन्थी एकतामा पुगेर मात्रै विश्राम लिनेछ भनेर म अपिल गर्न चाहन्छु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















