काठमाडौं — चर्चित तामाङ गीत ‘आङीकी छोरी’को रिमेक भर्सन सार्वजनिक गरिएको छ। आधुनिक स्वाद र नयाँ ऊर्जा थपिएको यो रिमेक MusicSpark को सहकार्यमा रिलिज गरिएको हो।

पुरानो भर्सनमा गीतकार संगीतकार तथा गायक जिवन बम्जन तामाङ र अन्जु थोकरको स्वर रहेको थियो। गीतका शब्द जिवन बम्जनकै हुन् भने संगीतकार टेक घिसिङको सिर्जना रहेको थियो। एरेन्ज नर्बु शेर्पाले गरेका थिए र डिका गुरुङले मिक्सिङ गरेका थिए। पर्पल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत ‘मेरो आपाको छोरो’ एल्बममार्फत सार्वजनिक भएको थियो। भिडियोमा सीता थिङ र प्रवल थिङको अभिनय र उमेश गुरुङको निर्देशन रहेको थियो।

नयाँ रिमेक भर्सनमा गीतकार एवम् गायक जिवन बम्जनसँगै गायिका सुमिना लोको स्वर थपिएको छ। संगीत टेक घिसिङकै जोगाइए पनि एरेन्जर फनिन्द्र राईले गीतलाई नयाँ शैली र आधुनिक टेक्स्चरमा प्रस्तुत गरेका छन्। रिमेकको मिक्सिङ अर्पन थिङ तामाङले गरेका हुन् भने रेकर्डिङ अर्पन स्टुडियोमा सम्पन्न गरिएको हो।

भिडियो पक्षमा समेत नयाँ र आकर्षक टिमको सहभागिता देखिन्छ। तामाङ तथा नेपाली गीत–संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल, अत्यन्त व्यस्त तथा लोकप्रिय कलाकार लाक्पा लामा, मिस तामाङ २०२४ की रिया लामा, र कलाकार एवम् समाजिक अभियान्ता  फुर्बा दोजे मोक्तानले रिमेक भिडियोमा अभिनय गरेका छन्।

गीतको छायांकन तथा ड्रोन सञ्चालन त्रिलोक लामाले सम्हालेका छन्। भिडियोको सम्पादन तथा कलर अमृत चापागाईले गरेका छन्। निर्देशन र कोरियोग्राफी युवा निर्देशक ङेस्युरको रहेको छ, जसले पुरानो भावनालाई जस्ताकोतस्तै जोगाउँदै नयाँ रूप र स्वाद दिने प्रयास गरेका छन्।

‘आङीकी छोरी’को रिमेक नयाँ स्वर, नयाँ दृश्य–प्रस्तुति र आधुनिक एरेन्जमेन्टसहित गायक जिवन बोम्जनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।