काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय, प्रतिभाशाली युवा गायक सुशील तितुङ लामाले आफ्नो नयाँ सिर्जना ‘जुरेली चरी’ सार्वजनिक गरेका छन्। काभ्रे जिल्ला चाैरीदेउराली गाउँपालिका–८ मा बुवा अाैतरी लामा र आमा चमेली तामाङको कोखमा जन्मिएका सुशील बाल्यकालदेखि नै गीत–संगीतप्रति अत्यन्तै आकर्षित थिए। परिवारको सांस्कृतिक परिवेश, गाउँघरको लय र प्रकृतिले दिएर जाने भावनाले उनलाई सानै उमेरदेखि संगीतको बाटोमा डोर्याएको हो।

नेपाली संगीत क्षेत्रमा केही नयाँ र अर्थपूर्ण दिनुपर्छ भन्ने चाहनासहित अघि बढिरहेका सुशील तितुङ लामाले पछिल्ला वर्षमा एकपछि अर्को उत्कृष्ट गीतमा आफ्नो सहभागिता जनाउँदै आफ्नो छुट्टै पहिचान बनाइरहेका छन्। त्यही यात्राको अर्को सुन्दर कडी बनेको छ—उनको नयाँ गीत ‘जुरेली चरी’।

‘जुरेली चरीले’मा सुशील तितुङ लामासँगै नेपाली आधुनिक तथा तामाङ सांगीतिक क्षेत्रमा स्थापित गायिका शशिकला मोक्तानले स्वर दिएका छन्। दुवै आवाजको संयोजनले गीतमा आवश्यक मिठास, दमदार प्रस्तुति र आत्मीयता थपेको छ। गीतले प्रेम, वियोग, सम्झना र अन्तर्निहित मनोभावनाहरूलाई अत्यन्त संवेदनशील ढंगले व्यक्त गर्छ।

गीतका शब्द तथा संगीत लामो समयदेखि नेपाली सेलो संगीतको समृद्धिमा लागिरहएका वरिष्ठ संगीतकार सुसन लामाले सिर्जना गरेका हुन्। सरल, कथायुक्त र भावनाले भरिएका शब्दहरूले गीतलाई श्रोतामैत्री मात्र बनाउँदैन, बरु गीत सुन्दा मनमा छोपिएको भावनालाई जगाइदिन्छ।

गीतको एरेन्ज नोरबु शेर्पाले आधुनिक शैलीमा प्रस्तुत गरेका छन् भने मिक्सिङ सुमन खड्काले पर्पल स्टुडियोमा सम्पन्न गरेका हुन्। प्राविधिक पक्ष मजबुत भएकाले गीतको धुन, स्वर र संगीतको स्तर अत्यन्त सुन्दर सुनिन्छ।

आजभोलि धेरै गीतहरू भिडियोसहित आउने क्रम बढिरहे पनि ‘जुनेली चरी’लाई फुल अडियो भर्सनमा सार्वजनिक गरिएको छ। यसको उद्देश्य—श्रोतालाई कुनै दृश्यात्मक प्रभाव बिना मात्र धुन, स्वर र भावनाको शुद्ध अनुभव गराउने हो।

‘जुरेली चरी’ अहिले युवा गायक सुशील तितुङ लामाको अफिसियल युट्युब च्यानल तथा विभिन्न डिजिटल स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ।

यो गीतले संगीतप्रेमीहरूलाई शुद्ध धुन, सरल भाव र हृदय छोने स्वरको अनुभव गराउँछ भन्ने विश्वास गर्न सकिन्छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।