रोशी– काभ्रेको रोशी गाउँपालिका–११ भिमखोरीस्थित पोक्रा माध्यमिक विद्यालयको नयाँ भवनको पहिलो तला, खेलमैदान र शौचालय बिहीबार सम्पन्न कार्यक्रममार्फत हस्तान्तरण गरिएको छ। रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विकास बेल्जियम, सेन्ट चामोण्ड स्पेयर्स फ्रान्स, रोशी गाउँपालिका, वडा कार्यालय तथा विद्यालय–समुदायको साझेदारीमा संरचना निर्माण गरिएको जानकारी गराइयो।
अध्यक्ष लामाले बाढी–पहिरोका कारण बजेट विपद्मा धेरै खर्च भएको बताउँदै सहकार्य संस्थाहरूको सहयोग स्वागतयोग्य रहेको भने। विकास बेल्जियमकी अध्यक्ष बेट्टी माउरेक्स र नेपालका लागि बेल्जियमका वाणिज्यदूत आङछिरिङ शेर्पाले पनि नेपाली शिक्षा क्षेत्रमा सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे।
उपाध्यक्ष मिमबहादुर वाइबाले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेको जानकारी दिए। विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय अध्यक्ष गुणराज मोक्तानले संरचना निर्माणसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक उपेरसिं थिङका अनुसार पहिलो तला निर्माणमा ९३ लाख २८ हजार ५२० खर्च भएको छ, जसमा विकास बेल्जियम र सेन्ट चामोण्ड स्पेयर्सले समान ३४ लाख ३२ हजार २३८–३४ लाख ३२ हजार २३८, गाउँपालिकाले १८ लाख, वडाले ४ लाख र समुदाय–विद्यालयले २ लाख ६४ हजार ४४४ योगदान गरेका छन्। खेलमैदान र शौचालयमा २० लाख ८२ हजार १५४ खर्च भएको छ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले नृत्य, गीत, गजल र मार्चपास प्रस्तुत गरेका थिए। कार्यक्रम शिक्षक लक्ष्मी रेग्मीले सञ्चालन गरेका थिए भने स्वागत सहायक प्रधानाध्यापक सारदा सापकोटाले गरेकी थिइन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























