तेमाल- काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका स्थित पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा आज निःशुल्क मोतिबिन्दु तथा नेत्ररोग शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। तेमाल गाउँपालिका र नेपाल आँखा कार्यक्रम तिलगङ्गा प्रतिष्ठान ख्वप–तिलगङ्गा आँखा केन्द्र भक्तपुरको संयुक्त आयोजना तथा Cure Blindness Project को सहयोगमा संचालन गरिएको यस उपचार शिविरमा स्थानीय क्षेत्रमा दृष्टि समस्या भएका बिरामीहरूको ठूलो सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिएको छ ।
पाठकका अनुसार शिविरमा मोतिबिन्दु शल्यक्रियाका लागि कुल ३३ जना बिरामीको सफल अपरेशन गरिएको थियो। यसमा २० जना पुरुष र १३ जना महिलाले सेवा लिएका छन्। त्यस्तै आँखामा मासु पलाएको (Pterygium) समस्याका ५ जना बिरामीको पनि शल्यक्रिया गरिएको छ, जसमा २ जना पुरुष र ३ जना महिला रहेका छन्।

यसरी आज सम्पन्न भएको शल्यक्रियाको कुल संख्या ३८ पुगेको स्वास्थ्य उनले जानकारी दिए । स्थानीय तह, स्वास्थ्यकर्मी तथा आयोजना साझेदार संस्थाको सहकार्यमा सम्पन्न शिविरले आर्थिक रूपमा कमजोर तथा उपचार सेवाबाट वञ्चित नागरिकलाई ठूलो राहत पुगेको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले बताए । स्वास्थ्य क्षेत्रमा तेमालका जनतालाई सहज रुपमा सेवा दिने गाउँपालिकाकाे योजना अनुसार शिविरको आयाेजना गरिएको उनले बताए ।
तेमाल गाउँपालिकाले गाउँस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ यस्ता कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्ने अध्यक्ष तामाङले प्रतिबद्धता जनाएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























