म‌गलटार— काभ्रे जिल्लाको रोशी गाउँपालिकामा शान्ति–सुरक्षा मजबुत बनाउने उद्देश्यसहित मंसिर २१ देखि २४ गतेसम्म ग्रामीण भेगमा Long Route Patrol (LRP) प्रभावकारी रूपमा सञ्चालन गरिएको छ। इलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा गरिएको चारदिने गस्तीमार्फत स्थानीय बस्तीको वस्तुगत स्थिति अध्ययन, सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण तथा सर्वसाधारणमा सुरक्षा प्रत्याभूति दिलाउने कार्यमा विशेष ध्यान दिइएको छ।

प्रहरीका अनुसार रोशी गाउँपालिकाका दुरदराज क्षेत्रसम्म पुगेर चोरी, ठगी, लुटपाटजस्ता आपराधिक घटना न्यूनीकरण गर्ने उद्देश्यले निरीक्षण, संवाद तथा निगरानी कार्य सञ्चालन गरिएको थियो। गाउँ–बस्तीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै गाउँमै आवश्यक सूचना संकलन, समुदायसँगको सहकार्य विस्तार र सुरक्षाप्रतिको विश्वास बढाउने कार्यमा गस्ती टोली सक्रिय रहेको बताइएको छ।

गस्तीका क्रममा मानव बेचबिखन नियन्त्रण, आत्महत्या न्यूनीकरण, बालबालिकामाथि हुने यौन दुर्व्यवहार, वालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, अवैध मदिरा उत्पादन तथा बिक्री–वितरण, अबैध घरेलु हतियार, तेजाबसम्बन्धी दुरुपयोग, विभिन्न प्रलोभनमा पारेर गरिने ठगीलगायत विषयमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

यसका साथै नवप्राकृतिकवादी (anti-social/illegal extremist) गतिविधिमाथि निगरानी गर्दै समुदायमा हुने विभिन्न अवाञ्छित क्रियाकलाप रोकथाममा LRP गस्ती उपयोगी भएको प्रहरीको निष्कर्ष छ। चारदिने गस्तीमार्फत ग्रामीण भेगमा प्रहरीको सक्रियता वृद्धि हुनुका साथै नागरिकमा सुरक्षाप्रतिको भरोसा थप सुदृढ भएको स्थानीयको प्रतिक्रिया रहेको छ।

प्रहरीले आगामी दिनमा पनि योजनाबद्ध ढंगले गाउँ–बस्तीमै पुगेर शान्ति–सुरक्षा प्रवर्धन गर्ने कार्यक्रम निरन्तर रहने जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।