काठमाडौँ— नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु हुँदैछ । उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने अनुमान गरिएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा नेपाल एकताको प्रतीक झल्काउने २०० भन्दा बढी कला–संस्कृतिसहितका झाँकी प्रदर्शन गरिनेछ । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत १६ राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ भने विभिन्न देशका कूटनीतिक नियोग तथा राजनीतिक दलबाट शुभकामना सन्देश प्राप्त भइरहेको छ ।
कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित बनाउन २४ जनसङ्गठनको प्रतिनिधित्वसहित १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिनेछ । लिच्छविकालीन चाँगुनारायण मन्दिरको प्रतिकृति समेटिएको भव्य मञ्च निर्माण गरिएको छ, जहाँ ३० फिट अग्ला दुई एलइडी स्क्रिन र उच्च क्षमताका ११५ साउन्ड सिस्टम जडान गरिएका छन् ।
महाधिवेशनको औपचारिक उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट विद्युतीय पाला र झण्डा फहराएर गर्ने कार्यक्रम छ । सहभागीका लागि सवारी पार्किङ, ¥याली तथा सांस्कृतिक प्रस्तुतिको पनि विशेष व्यवस्था गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























