काठमाडौं। तामाङ सांगीतिक क्षेत्रमा २०५३ सालतिर चर्चाको शिखरमा पुगेको लोकप्रिय गीत ‘वाला वाला ग्राम्बा’ करिब तीन दशकपछि नयाँ भर्सनमा पुनः सार्वजनिक भएको छ। वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ र वरिष्ठ गायक रोज मोक्तानको ऐतिहासिक सहकार्यबाट जन्मिएको यस गीतले त्यसबेला तामाङ लोकसंगीतलाई नयाँ उचाइमा पुर्‍याएको थियो।

समय, प्रविधि र श्रोताको स्वाद परिवर्तन हुँदै गएको वर्तमान सन्दर्भमा, उक्त कालजयी सिर्जनालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ बुद्धलिङ मिडिया प्रोडुक्शन को प्रस्तुतीमा आधुनिक स्वरूपमा पुनर्निर्माण गरिएको हो। नयाँ संस्करणमा पुरानो लय र भावनालाई जोगाउँदै आधुनिक संगीत संयोजन र दृश्य प्रस्तुतिमार्फत गीतलाई पुनर्जीवित गर्ने प्रयास गरिएको छ।

गीतको नयाँ भर्सनमा गायक प्रकाश तामाङ तितुङ, युद्ध लामा, विक्रम लुङ्वा र सुमिना लोको स्वर समावेश गरिएको छ। अनुभवी स्रष्टाको सिर्जनामा नयाँ पुस्ताका कलाकारको सहभागिताले गीतलाई पुस्तान्तरणको सेतु बनाएको छ।

गीतका शब्द तथा मूल संगीत चन्द्रकुमार दोङकै हुन् भने, समयअनुकूल बनाउने जिम्मा रि–एरेञ्ज कर्साङ लामाले लिएका छन्। ध्वनि संयोजनलाई अझ सशक्त बनाउन मिक्सिङ तथा मास्टरिङ सानु बाबु घिसिङले गरेका छन्।

गीतसँगै तयार गरिएको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी युद्ध लामाले गरेका छन्। भिडियोमा युद्ध लामा, प्रकाश तामाङ तितुङ, विक्रम लुङ्वा र आकांक्षा तामाङको अभिनय देख्न सकिन्छ।
परम्परागत तामाङ पहिरन, ग्रामीण परिवेश र आधुनिक दृश्य भाषाको संयोजनले भिडियोले सांस्कृतिक पहिचानलाई कलात्मक रूपमा उजागर गरेको छ।

भिडियोको छायांकन दुर्गा श्रेष्ठ,सम्पादन, कलर तथा पोस्टर डिजाइन अनिल बिष्ट (प्यूठानी) ले गरेका छन् भने, एडिट स्टेसन Ralphi Digital Music Pvt. Ltd. रहेको छ।

‘वाला वाला ग्राम्बा’ को नयाँ भर्सनले पुराना श्रोताको स्मृतिलाई ताजा गराउँदै नयाँ पुस्तालाई तामाङ मौलिक संगीततर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ। सांस्कृतिक संरक्षण र समयानुकूल सिर्जनाको पुनर्प्रस्तुति यस परियोजनाको मूल भाव रहेको निर्माण पक्षको भनाइ छ।

म्युजिक भिडियो Buddhaling Media Production को आधिकारिक युट्युब च्यानल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भइसकेको छ र दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।