बनेपा– लिन इन्टरनेशनल बोर्डिङ स्कुलले विद्यालय प्राङ्गणमा आज शनिबार भव्य शैक्षिक प्रदर्शनी मेला सम्पन्न गरेको छ । विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजना गरिएको उक्त प्रदर्शनीले विद्यार्थीहरूको शैक्षिक क्षमता, सिर्जनशीलता तथा व्यवहारिक ज्ञानलाई उजागर गरेको विद्यालयले जनाएको छ ।

प्रदर्शनीमा युकेजीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले तयार पारेका विभिन्न शैक्षिक तथा सिर्जनात्मक सामग्रीहरू अवलोकनका लागि राखिएका थिए । शिक्षा, स्वास्थ्य, यातायात, विज्ञान, नेपाली, गणित तथा सामाजिक विषयसँग सम्बन्धित चार्ट, मोडल, चित्र तथा कागजबाट बनाइएका संरचनाहरू प्रदर्शनीका प्रमुख आकर्षण बनेका थिए । यसका साथै विद्यार्थीहरूले परम्परागत तथा लोपोन्मुख नेपाली सामग्री, हस्तलेखन र चित्रकलाका सामग्रीहरू पनि प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले विद्यालयमा पठनपाठनसँगै अतिरिक्त सिकाइमा विशेष ध्यान दिइँदै आएको र त्यसलाई प्रयोगात्मक रूपमा अभ्यास गराउने उद्देश्यले शैक्षिक प्रदर्शनी आयोजना गरिएको बताए । यस्ता कार्यक्रमबाट विद्यार्थीहरूमा आत्मविश्वास बढ्नुका साथै विषयवस्तु प्रति बुझाइ अझ स्पष्ट हुने उनको भनाइ थियो।

त्यसैगरी विद्यालयका सह–प्रधानाध्यापक दिपक तामाङले शिक्षकहरूको निरन्तर मार्गदर्शन र विद्यार्थीहरूको मेहनतबाट विभिन्न विषयसँग सम्बन्धित उपयोगी सामग्री तयार गरी प्रदर्शनीमा राखिएको जानकारी दिए । उनले यस्ता गतिविधिले विद्यार्थीहरूको समूहगत कार्य, प्रस्तुति क्षमता तथा व्यवहारिक ज्ञान विकासमा टेवा पुर्याउने उल्लेख गरे ।
विद्यालयका सञ्चालक कान्छामान लामाले शैक्षिक स्तर उकास्न र विद्यार्थीहरूलाई सिर्जनात्मक तथा नवप्रवर्तनमुखी कार्यतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे । यस्ता गतिविधिले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई समेत सुदृढ बनाउने उनको भनाइ थियो ।

बिहान १० बजेदेखि सुरु भएको उक्त शैक्षिक प्रदर्शनी मेलामा विद्यार्थी, शिक्षक तथा अभिभावक गरी करिब पाँच सय जनाको उपस्थिति रहेको विद्यालयले जनाएको छ। प्रदर्शनी अवलोकनका क्रममा अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गर्दै विद्यालयले सञ्चालन गर्दै आएको व्यवहारिक शिक्षण पद्धतिप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















