तेमाल- नेपाल शिक्षक संघ तेमाल गाउँ कार्य समितिको आयोजनामा प्रतिनिधि सभा २०८२ सफलतापूर्वक सम्पन्न भएको छ । तेमाल गाउँपालिकाभित्रका विभिन्न विद्यालयबाट सहभागी शिक्षकहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तेमाल गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चन्द्रबहादुर तामाङ रहेका थिए भने विशेष अतिथिका रूपमा नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोक जिल्लाका अध्यक्ष शम्भु प्रसाद घिमिरे रहेका थिए । कार्यक्रमका अतिथिहरूमा उमाकान्त त्रिपाठी, दिलकुमार मोक्तान, गणेशमान तामाङ, भिमलाल लामा, जगतमान तामाङ, टंकामान लामा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा २०८१ सालमा तेमाल गाउँपालिकाभित्र प्राथमिक तथा माध्यमिक तहमा स्थायी नियुक्ति भएका तथा बढुवा भएका शिक्षकहरूलाई सम्मान तथा बधाई प्रदान गरिएको थियो । सम्मानित शिक्षकहरूमा ज्ञान्जामान तामाङ, मोनिका लामा, कविता बल, सृजना श्रेष्ठ, खुमादेवी राना, कपिलदेव भट्ट, पवित्र तिमिल्सिना, रुबिना तामाङ, श्याम गोसाई, ग्याल्छेन लामा र रमेश त्रिपाठी रहेका छन् ।
प्रमुख अतिथि तामाङले शिक्षकहरू शिक्षाको मेरुदण्ड भएको उल्लेख गर्दै शिक्षाको गुणस्तर सुधारमा शिक्षक संघको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखे । विशेष अतिथि घिमिरेले शिक्षकहरूको हक–हित र पेशागत सुरक्षाका लागि संघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको सभापतित्व नेपाल शिक्षक संघ तेमाल गाउँ कार्य समितिका सभापति ज्ञान्जामान तामाङले गरेका थिए भने कार्यक्रमको सञ्चालन रमेश त्रिपाठीले गरेका थिए । प्रतिनिधि सभा प्रत्येक वर्ष नियमित रूपमा गर्नुपर्ने आवश्यकता औँल्याउँदै संघले आगामी दिनमा संगठनात्मक गतिविधिलाई थप सशक्त बनाउने निर्णय समेत गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















