बनेपा– नेपाली कम्युनिष्ट पार्टी काभ्रेको परिचयात्मक बैठक सम्पन्न भएको छ । बैठक पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीको सन्देश सहित सम्पन्न भएको हाे ।

बैठक तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव हितमान शाक्य (सुमन)को प्रमुख आतिथ्यतामा तथा तत्कालीन नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव सावित्रा भुसालको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

नेकपा नेता गोकुल गौतमको सञ्चालन तथा केन्द्रीय सदस्य भोला अर्यालको सभापतित्वमा सम्पन्न बैठकमा दैबलाल घिसिङ (अनुशील)ले परिपत्र वाचन गरेका थिए । काभ्रेपलाञ्चोक जिल्लामा रहेका विभिन्न कम्युनिष्ट घटकहरूबीच पहिलोपटक संयुक्त रूपमा बसेको यो बैठकलाई ऐतिहासिक पहलका रूपमा लिइएको सहभागीहरूले बताएका छन् ।

बैठकले आगामी पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एकता सन्देश सभालाई सफल बनाउन काभ्रे जिल्लाबाट कम्तिमा १० हजारको संख्यामा जनपरिचालन गर्ने निर्णय गरेको छ । सहभागी नेताहरूका अनुसार उक्त सभा कम्युनिष्ट आन्दोलनलाई पुनः जनतासँग जोड्ने, फैलिँदै गएको निराशा चिर्ने तथा एकताको सन्देश देशभर विस्तार गर्ने महत्वपूर्ण अवसर हुनेछ ।

बैठकले एकताबद्ध कम्युनिष्ट आन्दोलनमार्फत सामाजिक न्याय, सुशासन र जनताको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।