काठमाडौँ— भक्तपुरको सल्लाघारीमा जारी नेकपा (एमाले)को ११औँ महाधिवेशनसँग जोडेर सामाजिक सञ्जालमा भाइरल भएको एक तस्बिर गलत भएको पुष्टि भएको छ। मैदानभरि ठूलो मानवसागर देखिने उक्त तस्बिरलाई महाधिवेशनस्थलको भन्दै प्रचार गरिएको भए पनि वास्तविकतामा यो तस्बिर एमाले महाधिवेशनसँग सम्बन्धित होइन।
उक्त तस्बिर शनिबार दिउँसो करिब २ बजेदेखि सामाजिक सञ्जालमा फैलिन थालेको देखिन्छ। सबैभन्दा पहिला ‘बचन राज जोशी’ नामक फेसबुक प्रयोगकर्ताले पोस्ट गरेको तस्बिर हजारौँ प्रतिक्रिया र सयौँ टिप्पणीसहित व्यापक रूपमा सेयर भयो। पोस्टमा धेरै प्रयोगकर्ताले तस्बिर गलत भएको भन्दै असली तस्बिरसमेत राखेर सच्याउन खोजे पनि प्रभावशाली व्यक्तिहरूबाटै गलत तस्बिर सेयर भएको देखियो।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत, महासचिव शंकर पोखरेलका स्वकीय सचिव सरोजकुमार रेग्मी, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल र नेपाल प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेसम्मले उक्त तस्बिर आ–आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। कतिपयले पछि पोस्ट हटाए पनि तस्बिरले ठूलो प्रभाव पारिसकेको थियो।
यस घटनाले राजनीतिक कार्यक्रमसँग सम्बन्धित सूचनामा सामाजिक सञ्जाल प्रयोग गर्दा तथ्य जाँचको गम्भीर अभाव देखाएको छ। उच्च तहका नेताहरू र पत्रकारसमेतबाट गलत तस्बिर प्रचार हुनु सामाजिक सञ्जालमा भ्रम फैलिने प्रमुख कारण बन्दै गएको भन्दै आलोचना बढेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























