सुर्खेत- सुर्खेतमा आयोजित एकता सन्देश सभामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री र जेनजी युवाबीच भएको पछिल्लो सम्झौता नेकपाको नीति–कार्यक्रमसँग मिल्दोजुल्दो रहेको बताएका छन् ।
उनले जेनजी आन्दोलनले उठाएका मुद्दा र नेकपाको वैचारिक धार एकै दिशामा रहेको दाबी गरे ।
प्रचण्डले जेनजी युवाहरूले पुराना राजनीतिक दल र नेताहरूलाई गम्भीर चुनौती दिएको स्वीकार्दै ‘सच्चिने कि सक्किने’ चेतावनीलाई सकारात्मक रूपमा लिएको बताए । सोही कारण जेनजीको माग र बाटोमा अघि बढ्ने पहिलो पार्टी नेकपा बनेको उनको भनाइ छ ।
उनले चर्चामा रहेका धेरै जेनजी युवाहरू अहिले नेकपामा जोडिएको दाबी गर्दै, जेनजीको अभिभावक पार्टी नेकपा नै भएको बुझाइ विकसित हुँदै गएको बताए । साथै, तत्कालीन केपी ओली नेतृत्वको सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी पनि गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























