काठमाडौं । तामाङ चलचित्र संघ नेपालका संस्थापक अध्यक्ष तथा चर्चित चलचित्र निर्माता–निर्देशक सन्तलाल घिसिङको असामयिक निधन भएको छ। उहाँको शनिबार बेलुकी करिब ७ बजे आफ्नै निवास, चितवनमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

घिसिङको जन्म वि.सं. २०३५ साल असार १७ गते बुबा श्यामबहादुर घिसिङ र आमा डोलकुमारी तामाङको कोखबाट भरतपुर महानगरपालिका–२४, नयाँबस्ती (केरुङ), चितवनमा भएको हो। उहाँ केही समयदेखि ज्यान्डिस रोगबाट पीडित भई चितवनस्थित एक मेडिकल कलेजमा उपचाररत हुनुहुन्थ्यो।

वि.सं. २०६५ साल जेठ २७ गते दर्ता भएको तामाङ चलचित्र संघ नेपालको संस्थापक अध्यक्षका रूपमा घिसिङले तामाङ चलचित्र उद्योगको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। तामाङ भाषाका चलचित्रलाई गुणात्मक निर्माणतर्फ अग्रसर गराउँदै उहाँले पहिलो पटक ‘आक्ताङ राउ’ चलचित्र निर्देशन गर्नुभएको थियो।

घिसिङले करिब दुई दर्जन तामाङ चलचित्र निर्देशन गरिसक्नुभएको छ। ‘मायाला छो’, ‘दुङाल’, ‘च्याङबा’, ‘लानी’ लगायतका चलचित्रहरू दर्शकमाझ अत्यन्त लोकप्रिय र हिट मानिन्छन्।

तामाङ चलचित्र उद्योगका एक अग्रणी व्यक्तित्वको रूपमा चिनिनु भएका सन्तलाल घिसिङको निधनले तामाङ कला, संस्कृति र चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उहाँको मृतात्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।