काभ्रे । उज्यालो नेपाल पार्टीको काभ्रेपलाञ्चोक जिल्ला भेला मंगलबार बनेपामा सम्पन्न भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पार्टीको जिल्ला संगठनलाई औपचारिक रूपमा विस्तार गरेको छ।

भेलाबाट क्षितिज तामाङको संयोजकत्वमा १९ सदस्यीय काभ्रेपलाञ्चोक जिल्ला समिति गठन गरिएको छ। साथै जिल्लाभित्रका गाउँपालिका तथा नगरपालिकास्तरका संयोजकहरू समेत तोकिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री घिसिङले देशमा सुशासन, पारदर्शिता र विकासका लागि नयाँ सोच र इमानदार राजनीतिक अभियान आवश्यक रहेको बताउँदै उज्यालो नेपाल पार्टीले उठाएको एजेन्डा समयसापेक्ष रहेको उल्लेख गर्नुभयो।

पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल नारा बनाएर देशव्यापी रूपमा संगठन विस्तार तथा जनस्तरसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्लाभेलाले पार्टीलाई काभ्रेपलाञ्चोकमा मजबुत बनाउने र जनताको मुद्दा केन्द्रमा राखेर राजनीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

भेलामा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।