बनेपा- नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आफ्नो स्थापनाको ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित मनाएको छ। कार्यक्रम महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
स्थापना दिवसको अवसरमा महासंघ काभ्रे शाखाले आधिकारिक वेबसाइट सार्वजनिक गर्नुका साथै ‘पत्रकारिता दर्पण’ स्मारिका विमोचन गरेको छ।
कार्यक्रममा बोल्दै शाखा अध्यक्ष विनोद न्यौपानेले महासंघको संस्थागत विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। उनले यसअघि ५ लाख रुपैयाँ रहेको कल्याण कोषलाई १० लाख रुपैयाँ पुर्याइएको जानकारी दिँदै पत्रकारहरूको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने निर्णय गरिएको बताए। साथै, सुशासन र पारदर्शितासँगै एआईसम्बन्धी तालिम तथा पूर्वाधार निर्माणका कार्यक्रम अघि बढाइने उनले उल्लेख गरे।
प्रमुख अतिथि शर्माले पत्रकारिताको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता अझै उत्तिकै रहेको बताइन्। पत्रकारहरूको क्षमता विकासमा महासंघ निरन्तर सक्रिय रहेको उनको भनाइ थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, पूर्व अध्यक्षहरू तथा विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव नगेन्द्र अधिकारीले गरेका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























