मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर, मलेसिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा नेपाली नागरिकमाथि बढ्दै गएको दुर्व्यवहार, अनावश्यक रोकतोक तथा जाँचप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद् मलेसियाले नेपाली राजदूतावास, क्वालालम्पुरलाई औपचारिक पत्र पठाउँदै विभिन्न पेशा, व्यवसाय तथा क्षेत्रका नेपाली नागरिकहरू विमानस्थलमा बारम्बार अनावश्यक झन्झट, कडाइपूर्ण जाँच र अपमानजनक व्यवहारको सामना गर्नुपरेको गुनासो आएको उल्लेख गरेको छ।
पत्रमा विशेषगरी केएलआईएको सेक्युरिटी जाँच तथा अध्यागमन प्रक्रियामा नेपाली नागरिकहरू लक्षित हुने गरेको, जसका कारण उनीहरू आर्थिक, मानसिक र सामाजिक समस्यामा परेको अवस्था उल्लेख गरिएको छ। संघले यस्तो अवस्थाले मलेसियामा रहेका नेपाली समुदायमा त्रास र असुरक्षा बढाएको बताएको छ।
एनआरएनए मलेसियाले यस विषयमा नेपाली राजदूतावासले सम्बन्धित मलेसियाली निकायसँग आवश्यक समन्वय गरी विमानस्थलमा निगरानी र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पहल गर्न आग्रह गरेको छ। साथै, नेपाली नागरिकको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न कूटनीतिक पहल आवश्यक रहेको संघको धारणा छ।
संघले यस गम्भीर विषयमा शीघ्र आवश्यक कदम चालिने अपेक्षा गर्दै राजदूतावाससँग सहकार्यको प्रतिबद्धता पनि जनाएको छ।






















