सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङको आफ्नै घरभित्र पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको घटनाले देशभर स्तब्ध बनाएको छ। हत्या हुनुअघि नै “मलाई मार्ने धम्की आएको छ” भन्दै माइती पक्षलाई पटक–पटक जानकारी गराएकी सुशीलाको जघन्य हत्याप्रति मानव अधिकारकर्मी तथा महिला अधिकार संस्थाहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।

प्रहरी अनुसन्धान अनुसार, घटना भएको आइतबार बिहान करिब ९ बजे सुशीलाले आमा बुद्धिमाया घिसिङलाई रुँदै फोन गर्दै आफूलाई लिन आउन आग्रह गरेकी थिइन्। “आज त मलाई मार्ने नै हो भन्छन्, मलाई धेरै डर लागिरहेको छ,” भन्दै उनले सहयोग मागेकी थिइन्। माइती पक्षले भोलिपल्ट उनलाई लिन जाने तयारीसमेत गरेको थियो। तर सोही दिन दिउँसै उनको ज्यान लिइयो।

प्रहरीका अनुसार, सुशीला घर फर्किएपछि भान्सामा पस्नेबित्तिकै नन्द मीना बोम्जनले शरीरमा पेट्रोल खन्याएर लाइटर बालिन् र ढोका बाहिरबाट चुकुल लगाइन्। सोही समयमा सासु मायारानी बोम्जनले माथिल्लो तलाको च्यानल गेटमा ताल्चा लगाइदिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। हारगुहार सुनेर छिमेकीहरू पुग्दा मेनगेटसमेत ताल्चा लागेको थियो।

घटनास्थलबाट पेट्रोलको रित्तो बोतल र लाइटर फेला परेपछि प्रहरीले हत्या भएको निष्कर्ष निकालेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार नन्द मीना बोम्जनले योजनाबद्ध रूपमा हत्या गरेको बयान दिएकी छन्। घटनामा परिवारका अन्य सदस्यहरूको समेत संलग्नता रहेको उल्लेख बयानमा गरिएको छ।

यस घटनाप्रति मानव अधिकार आयोग, महिला अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष र प्रभावकारी अनुसन्धानको माग गरेका छन्। मानव अधिकारकर्मीहरूका अनुसार सुशीला घरेलु हिंसाको दीर्घकालीन सिकार थिइन् र उनले ज्यान जोखिममा रहेको जानकारी पटक–पटक दिएको अवस्थामा पनि राज्य संयन्त्रले समयमै संरक्षण दिन नसक्नु गम्भीर लापरवाही हो।

मानव अधिकार तथा महिला अधिकार संस्थाहरूले यो घटना केवल एक व्यक्तिको हत्या मात्र नभई महिलाविरुद्धको संरचनागत हिंसाको चरम रूप भएको उल्लेख गर्दै दोषीलाई कडा कानुनी कारबाही, पीडित परिवारलाई न्याय र तिम्ल्याहा सन्तानको दीर्घकालीन संरक्षणको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

मृतकका बुवा प्रेमबहादुर घिसिङले सासु मायारानी बोम्जन, ससुरा दुर्गामान बोम्जन र नन्द मीना बोम्जनविरुद्ध किटानी जाहेरी दिएका छन्। जाहेरीका आधारमा सासु मायारानी र नन्द मीना बोम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ससुरा दुर्गामान बोम्जन प्रहरी निगरानीमा उपचाररत छन्।

घटनापछि सुशीलाका तीन जना तिम्ल्याहा सन्तान—दुई छोरा र एक छोरी—लाई हाल सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ स्थित मामाघरमा राखिएको छ। मानव अधिकारकर्मीहरूले बालबालिकाको शिक्षा, मनोसामाजिक उपचार र सुरक्षित भविष्य सुनिश्चित गर्न राज्यको विशेष भूमिका आवश्यक रहेको बताएका छन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।