धुलिखेल— निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि १८ वर्ष उमेर पूरा भएका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ। जस अनुसार जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार काभ्रेपलाञ्चोकमा कुल ३ लाख २६ हजार ६ सय ११ मतदाता छन् ।
तीमध्ये पुरुष १ लाख ६७ हजार ४ सय ९९, महिला १ लाख ५९ हजार १ सय १० र अन्य २ जना छन्। २०७९ को निर्वाचनको तुलनामा जिल्लामा १६ हजार ५ सय ४८ मतदाता थपिएका छन्।
काभ्रेमा दुई निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १ सय मतदाता (पुरुष ८३ हजार ७ सय ७३, महिला ७७ हजार ३ सय २६, अन्य १) छन्। यस क्षेत्रमा खानीखोला, चौरीदेउराली, तेमाल, नमोबुद्ध, महाभारत, रोशी, धुलिखेल–८ देखि १२, पनौती–४ देखि १० र बेथान्चोक–६ पर्छन्।
निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता (पुरुष ८३ हजार ७ सय २६, महिला ८१ हजार ७ सय ८४, अन्य १) छन्। यस क्षेत्रमा धुलिखेल–१ देखि ७, पनौती–१,२,३,११,१२, पाँचखाल, बनेपा, भुम्लु, मण्डनदेउपुर र बेथान्चोक–१ देखि ५ पर्छन्।
मतदानका लागि जिल्लाभर १ सय ८९ मतदान स्थलमा ४ सय मतदान केन्द्र तोकिएका छन्। १३ पालिकामा १ सय ३५ वडा छन्। मतदान केन्द्रमध्ये ५८ जटिल, ७६ मध्यम र ५६ सामान्य छन्। राजनीतिक दलहरूले सुरक्षा र निर्वाचन वातावरणबारे चासो व्यक्त गरे पनि सरोकारवालाले मुलुक निर्वाचनतर्फ अघि बढिरहेको बताएका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























