काठमाडौं। पछिल्लो नेपाली समाजको यथार्थ, परदेशिएका युवाले भोग्दै आएका पीडा, दुःख र निरन्तर संघर्षका कथालाई गहिरो संवेदनासहित प्रस्तुत गर्ने मर्मस्पर्शी सेलो गीत ‘आँखाको आँसु’ सार्वजनिक भएको छ। समाजमा मौन रूपमा बढ्दै गएको युवाको विदेश पलायन र त्यसले गाउँ–समाजमा पारेको असरलाई गीतले सशक्त रूपमा उजागर गरेको छ।
गीतका शब्द डोम घलानको हुन्, जसमा परदेशिएको युवाको मनोविज्ञान, घर–परिवारबाट टाढिँदाको पीडा र समाजमा सिर्जित रिक्तताको चित्रण गरिएको छ। गीतको संगीत चर्चित गायक तथा संगीतकार विश्व दोङले दिएका छन् भने विश्व दोङ र लोकप्रिय गायिका सुमिना लोको सुमधुर स्वरले गीतलाई अझ भावनात्मक बनाएको छ।
लिरिकल भिडियोसहित तयार पारिएको उक्त गीत म्हाबर मिडिया युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो। गीतले केवल एक व्यक्तिको कथा मात्र नभई, गाउँघर छाडेर विदेशिन बाध्य लाखौँ नेपाली युवाको साझा पीडालाई प्रतिनिधित्व गरेको छ। उर्जाशील युवा विदेशिँदा गाउँ–समाजमा देखिन थालेको जनशक्ति अभाव, भावनात्मक शून्यता र सामाजिक असरलाई पनि गीतले मार्मिक ढंगले प्रस्तुत गरेको छ।
रचनाकार डोम घलानले यो गीत युवा पुस्तामा चेतना जगाउने र समाजप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले तयार गरिएको बताउनुभएको छ। उहाँका अनुसार ‘आँखाको आँसु’ केवल गीत नभई, वर्तमान सामाजिक अवस्थामाथिको गहिरो अनुभूति हो।
गीतको मिक्सिङ दिपेश प्रधानले गरेका छन् भने रोजिना तामाङ र सुनिल घिसिङको लगानीमा यो सिर्जना दर्शक–श्रोतामाझ ल्याइएको हो। गीतलाई सफल बनाउन सहयोग गर्ने सुशिल तामाङ, सज्जन स्याङतान, सुशिला थिङ र अतित ब्लोनप्रति रचनाकार घलानले विशेष धन्यवाद व्यक्त गर्नुभएको छ।





















