महाभारत— काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाभित्र विभिन्न कार्यालयमार्फत ठेक्का लिएर काम अलपत्र पार्ने ठेकदारहरूलाई गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कडा चेतावनी दिएका छन् । अध्यक्ष जिम्बाले हिजो सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ७ दिनभित्र आ–आफ्नो कार्यस्थलमा फर्किएर सम्झौता अनुसार काम सुरु गर्न निर्देशन दिएका हुन् ।
उनले तोकिएको समयभित्र काम सुरु नगर्ने ठेकदारविरुद्ध चरणबद्ध कारबाही अघि बढाइने स्पष्ट पारेका छन् । पहिलो चरणमा कम्पनीको नाम र ठेगाना सार्वजनिक गरी सचेत गराइने, दोस्रो चरणमा सम्बन्धित सञ्चालकको नाम, तस्बिर र उनी आबद्ध रहेको राजनीतिक पृष्ठभूमिसमेत सार्वजनिक गरिने चेतावनी दिएका छन् । त्यसपछि पनि अटेरी गरे कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष जिम्बाको भनाइ छ ।
अध्यक्ष जिम्बाले विकास निर्माणका काम लथालिङ्ग हुँदा जनताले प्रत्यक्ष रूपमा दुःख पाएको उल्लेख गर्दै अब सहन नसकिने अवस्था आएको बताए । “ठेक्का लिएर काम नगर्ने प्रवृत्तिले विकासलाई अवरुद्ध बनाएको छ, यसलाई अन्त्य गर्न सबैको साथ आवश्यक छ,” उनले सन्देशमा उल्लेख गरेका छन् ।
उनले यस अभियानमा जिल्लास्थित कार्यालयहरू, आम नागरिक, राजनीतिक दल, कर्मचारी, पत्रकार तथा सरोकारवाला सबैलाई सहयोग गर्न आग्रह गर्दै सकारात्मक सुझावको अपेक्षा समेत गरेका छन् । गाउँपालिकाको यो कडा चेतावनीपछि अलपत्र परेका विकास आयोजनाहरू पुनः सञ्चालन हुने आशा गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















