खानीखोला— काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ मा परम्परागत धार्ने जात्राको अवसर पारेर आयोजित खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ह्रेम्बोर्छे युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रमले स्थानीय युवाहरूको खेलकुद क्षमता विकाससँगै सामाजिक एकता र सांस्कृतिक संरक्षणमा योगदान पुर्याएको आयोजकले जनाएको छ।
पुस १४ गतेदेखि सुरु भएको भलिबल प्रतियोगिता पुस १८ गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा गाउँपालिकाभित्रका १८ वटा टिमले प्रतिस्पर्धा गरेका थिए। कडा प्रतिस्पर्धात्मक खेलपछि खानीखोला–६ नम्बर वडाको टिमले उपाधि हात पार्न सफल भयो भने गिम्दी युवा क्लब उपविजेतामा सीमित भयो। त्यस्तै, खानीखोला–७ नम्बर वडा तृतीय र खानीखोला–५ नम्बर वडा चौथो स्थानमा रहन सफल भए।
विजेता टिमले नगद ७१ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। उपविजेताले ४१ हजार १११ रुपैयाँ, तृतीयले २१ हजार १११ रुपैयाँ र चौथो हुने टिमले ११ हजार १११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिएको थियो। उत्कृष्ट खेलाडी अनिष घिमिरे घोषित भए भने बेष्ट स्टाइकर पासाङ वाइबा, बेष्ट सेटर निशान राना मगर, बेष्ट डिफेन्स कुमार थोकर, बेष्ट ब्लकर कुशल भोलन र बेष्ट सर्भर मनराज आले मगर घोषित भएका थिए।
प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बा, वडा अध्यक्षहरू निसान मोक्तान र बुद्धिबहादुर स्याङ्तान (बाबू), युवा नेता तथा समाजसेवी दैवलाल घिसिङ (अनुशील), समाजसेवी विरेन्द्र लामा र रामकाजी भोलनलगायतले खेलकुद र संस्कृति युवाको सकारात्मक विकासका आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।
समापन समारोहमा कलाकार निर्मला घिसिङ र लक्ष्मी स्याङ्तानले सांगीतिक प्रस्तुति दिँदा स्थानीय दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रतियोगिताका लागि खानीखोला गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने समाजसेवी दैवलाल घिसिङले चार थान भलिबल उपलब्ध गराएर सहयोग गरेका थिए।
समापन कार्यक्रमको अध्यक्षता वडा नम्बर १ का अध्यक्ष सन्तमान थिङले गरेका थिए भने कार्यक्रम सञ्चालन ह्रेम्बोर्छे युवा क्लबका अध्यक्ष अभि थिङले गरेका थिए। प्रतियोगिता संयोजन दीपक गोलेले गरेका थिए। आयोजकका अनुसार कार्यक्रम शान्तिपूर्ण, अनुशासित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो। आगामी दिनमा पनि खेलकुद र सांस्कृतिक गतिविधिलाई प्राथमिकतामा राख्दै निरन्तर आयोजना गरिने प्रतिबद्धता आयोजक समितिले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















