काठमाडौं ।तामाङ समुदायको मौखिक परम्परामा आधारित ताम्बा संस्कृतिलाई पहिलोपटक व्यवस्थित रूपमा लिपिबद्ध गर्ने प्रयासस्वरूप ‘ताम्बा ह्रिमठिम’ पुस्तक सार्वजनिक गरिएको छ। ताम्बा अध्येता पासाङदोर्जे लामा मोक्तानद्वारा लिखित यो पुस्तकले तामाङ समुदायको इतिहास, संस्कार, गीत–सङ्गीत र सांस्कृतिक दर्शनलाई ग्रन्थीय रूप दिएको छ।
मंगलबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो। पुस्तकमा ताम्बा तह, पेङदोर्जे, डम्फु, ह्रुइ तथा विवाह संस्कारसँग जोडिएका विविध विषयलाई समेटिएको छ, जसले पुस्तौँदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएको ज्ञानलाई दस्तावेजीकरण गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि मानवशास्त्री डा. मुक्तसिंह थोकरले पुस्तकले तामाङ समुदायको शास्त्रीय भाषा, पुर्खाको दर्शन र विचारलाई समेटेको उल्लेख गर्दै यसले भावी पुस्ताका लागि मार्गनिर्देशन गर्ने बताए। उनले भविष्यका संस्करणमा बोन्बो र लामा परम्परासम्बन्धी विषय थपिनु आवश्यक रहेको सुझाव दिए।
पुस्तक समीक्षक नवीन मोक्तानले ‘ताम्बा ह्रिमठिम’ले विशेषतः विवाह संस्कारको चारतम, साङसेरगेमबिना कर्मकाण्ड नगर्ने परम्परा र ह्रुइका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेको बताए। यद्यपि ताम्बाका गीतहरू बुझ्न केही कठिन हुनसक्ने उनले टिप्पणी गरे।
समीक्षक तथा लेखक रविन्द्र तामाङले पुस्तकमा ताम्बा के हो, यसको प्रक्रिया र समाजमा यसको आवश्यकता किन छ भन्ने प्रश्नको गीत र व्याख्यासहित उत्तर खोजिएको बताए। थर सृष्टिसम्बन्धी विषय थपिएको भए पुस्तक अझ समृद्ध हुने उनको धारणा थियो।
भाषाविद् अमृत योञ्जनले तामाङ समुदायको ठूलो जनसंख्या हुँदाहुँदै पनि भाषासम्बन्धी पुस्तकको अभाव रहेको अवस्थामा ‘ताम्बा ह्रिमठिम’ प्रकाशन हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। “यो पुस्तकले लामो समयदेखि रहेको शून्यता चिरेको छ,” उनले भने।
राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले ताम्बा परम्परालाई निरन्तरता दिने एउटा ‘संस्थागत एजेन्सी’का रूपमा पुस्तकलाई व्याख्या गर्दै, लेखक मोक्तानको तीन दशक लामो साधनाको प्रतिफलस्वरूप यो कृति आएको बताए।
नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले चारतम संस्कारमा खस भाषाको बढ्दो प्रयोगले मौलिकता कमजोर बन्दै गएको उल्लेख गर्दै ताम्बा परम्परा जोगाउन मोक्तान परिवारको योगदान उल्लेखनीय रहेको बताए।
लेखक पासाङदोर्जे मोक्तान नेपाल तामाङ ताम्बा घेदुङका सङ्घीय अध्यक्ष, ताम्बा ज्ञान अध्ययन प्रतिष्ठान नेपालका अध्यक्ष तथा ताम्बा सङ्घ नेपालका संस्थापक उपाध्यक्षसमेत हुन्। उनले तीन दशकभन्दा बढी समयदेखि खोज, अध्ययन, अनुसन्धान र अभ्यासमार्फत ताम्बा परम्परा जोगाउँदै आएको अनुभव पुस्तकमा समेटिएको बताए। तामाङ ह्युलको सामाजिक संरचनामा ताम्बा, बोन्बो, लामा र गान्बा अपरिहार्य रहेको उल्लेख गर्दै ताम्बा संस्थालाई स्थापित र निरन्तर बनाउन पुस्तक तयार पारिएको उनको भनाइ थियो।
सम्पादक खोजराज गोलेद्वारा सम्पादित र ताम्बा ज्ञान अध्ययन प्रतिष्ठान नेपालद्वारा प्रकाशित २२४ पृष्ठको यस पुस्तकको आवरण कमल योञ्जनले तयार पारेका हुन्। पुस्तकको मूल्य ९५० रुपैयाँ तोकिएको छ। कार्यक्रममा ताम्बा सङ्घ नेपालका अध्यक्ष दावावाङ्गेल मोक्तान, साङलाल घिसिङ, सहयोगी, सञ्चारकर्मी तथा तामाङ समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
‘ताम्बा ह्रिमठिम’लाई तामाङ समुदायको साझा सांस्कृतिक सम्पत्ति मान्दै, समीक्षकहरूको सुझावअनुसार आगामी संस्करण अझ परिष्कृत गरिने लेखक मोक्तानले प्रतिबद्धता जनाएका छन्।





















