काभ्रेपलाञ्चोक ।  तेमाल गाउँपालिका–२ मा खेलकुद र संस्कृतिलाई एउटै मञ्चमा उभ्याउँदै सोनाम ल्होछार २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। ‘तेस्रो वडा अध्यक्ष कप–२०८२’ खुला फुटबल प्रतियोगिताको फाइनल तथा समापन समारोहसँगै तेमाल–२ मा वृहत् सांस्कृतिक महोत्सव हुने तय भएको हो।

लामाखोर समाज तेमाल–२ को आयोजनामा तथा तेमाल गाउँपालिका–२ नं. वडा कार्यालयको प्रायोजनमा सञ्चालन हुन लागेको यो कार्यक्रमले खेलकुदमार्फत युवालाई सक्रिय बनाउने र संस्कृतिमार्फत समुदायको पहिचान मजबुत बनाउने उद्देश्य लिएको छ। पौष ३० गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल माघ ३ गते तेमाल–२ स्थित सिमलचौर खेलमैदानमा आयोजना हुनेछ। सोही दिन सोनाम ल्होछारको अवसर पारेर सांस्कृतिक कार्यक्रम समेत समावेश गरिनेछ।

खुला फुटबल प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूले पौष २७ गतेसम्म दर्ता गर्न सक्नेछन्। प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख २५ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी तथा उत्कृष्ट किपरलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ।

सांस्कृतिक कार्यक्रमतर्फ तामाङ समुदायको मौलिक भाषा, भेषभूषा, परम्परा र कलालाई उजागर गर्ने विविध प्रस्तुति रहने आयोजकले जनाएको छ। गायक अमृत लामा, कमला दोङ, प्रयास दोङ, अभिषेक मोक्तान, विहिन दोङ, कोसिश थोकर, काजल तामाङ, तोप लामा, आदित्य लामा, सम्राट लामा, सृजना दोङ, निमा लामा, सृजना तामाङ र रेणु श्रेष्ठलगायत कलाकारहरूले प्रस्तुति दिनेछन्।

वडाध्यक्ष देवराज तामाङले खेलकुद र संस्कृतिको संयोजनले युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने बताउँदै यस्ता कार्यक्रमले सामाजिक सद्भाव र एकतालाई थप बल पुर्‍याउने धारणा व्यक्त गरे। लामाखोर समाज तेमालका अध्यक्ष मानविर तामाङले सोनाम ल्होछार र वडा अध्यक्ष कपलाई तेमालको पहिचानसँग जोड्दै दीर्घकालीन अभियानका रूपमा अघि बढाइएको बताए।

आयोजक संस्थाले स्थानीयवासी, खेलप्रेमी, युवायुवती तथा सर्वसाधारणलाई कार्यक्रममा सक्रिय सहभागिता जनाई सोनाम ल्होछार २०८२ र ‘तेस्रो वडा अध्यक्ष कप–२०८२’ लाई भव्य, सभ्य र ऐतिहासिक बनाउन सहयोग गर्न आह्वान गरेको छ। प्रतियोगिताका खेलहरू उज्यालो नेटवर्कमार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।