तेमाल- काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । तेमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा यही २०८२ पौष २३ देखि २५ गतेसम्म (३ दिन) प्रतियोगिता सञ्चालन हुने भएको हो ।
पोखरी नारायणस्थान खेलमैदान, तेमाल–५, काभ्रेपलाञ्चोकमा आयोजना हुने प्रतियोगिताको उद्घाटन समारोह पौष २३ गते बुधबार बिहान ११ बजे हुनेछ भने समापन समारोह पौष २५ गते शुक्रबार दिउँसो १२ बजे सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा गाउँपालिका भित्रका विद्यालयहरू सहभागी हुनेछन् । खेलकुद मार्फत विद्यार्थीहरूमा अनुशासन, सहकार्य, नेतृत्व विकास तथा शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तेमाल गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
गाउँपालिकाले वडा अध्यक्ष, गाउँकार्यपालिका सदस्य, गाउँसभा सदस्य, शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई प्रतियोगिताको सफलताका लागि सहयोग गर्न आग्रह गरेको छ ।
स्थानीय तहमा खेलकुदको प्रवर्द्धन र प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले तेमाल गाउँपालिकामा खेलकुद विकासमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















