काठमाडौं । तामाङ चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको जिबा फिल्म्स प्रोडक्सनले आफ्नो चौधाै प्रस्तुतीका रूपमा बहुप्रतीक्षित तामाङ चलचित्र ‘ह्याङ तामाङ (हामी तामाङ)’ पुस २६ गते विशेष प्रदर्शन हुने भएको छ।

चलचित्र नेपाल चलचित्र विकास बोर्डमा पुस २६ गते बिहान ९ बजे, १२ बजे र दिउँसो ३ बजे तथा सोही दिन अष्टनारायण हलमा दिउँसो २ बजे विशेष प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।

ब्यानर सार्वजनिक भएदेखि नै चर्चामा रहेको यो चलचित्रले तामाङ समुदायभित्र मात्र नभई समग्र नेपाली चलचित्र क्षेत्रमा समेत उल्लेखनीय ध्यान खिच्न सफल भएको छ।

‘ह्याङ तामाङ (हामी तामाङ)’ ले तामाङ समुदायको पहिचान, संघर्ष, आत्मसम्मान र एकताको कथा सशक्त रूपमा प्रस्तुत गरेको छ। फिल्मको मूल धागो तामाङ समाजभित्र देखिएको चुनावी विभाजन, इतिहासमा परेको दमन, गाई–गोरु प्रकरणजस्ता आरोप–प्रत्यारोपले पारेको सामाजिक असर, समुदायबीचको एकताको अभाव, साथै शिक्षा, स्वास्थ्य र अवसरका सवाल जस्ता जटिल र संवेदनशील विषयमा केन्द्रित छ।

कथावस्तु केवल मनोरञ्जनका लागि नभई समुदायलाई अभिमुखीकरण गर्ने उद्देश्य बोकेको देखिन्छ। फिल्मले तामाङ समाजको पीडा, संघर्ष, प्रेम, सांस्कृतिक उतार–चढाव र सामुदायिक चेतनालाई एकैसाथ जोड्दै बहुपहिलो कथा निर्माण गरेको छ।

चलचित्रका निर्माता प्रबल थिङ तामाङ र सह–निर्माता कार्साङ लामा दोङले कथाको गहिराइ, दृश्यको मौलिकता र प्रस्तुतीकरणमा कुनै सम्झौता नगरेको देखिन्छ। सीमित बजेटका बाबजुद पनि चलचित्रमा गुणस्तरीय सिनेमाटोग्राफी, सांस्कृतिक सेट–डिजाइन र दृश्यात्मक आकर्षण देख्न सकिन्छ।

निर्देशक निमा लामा तामाङले कथालाई स्थानीय बोली, व्यवहार र सांस्कृतिक परिवेशसँग गहिरो रूपमा जोड्दै यथार्थपरक ढङ्गले पर्दामा उतारेका छन्। उनको निर्देशनमा कुनै दृश्य अनावश्यक लम्बिएको छैन भने भावनात्मक दृश्यहरूमा आवश्यक गहिराइ छ। समुदायको सामूहिक पीडालाई बिना सजावट, सिधा र इमानदार रूपमा प्रस्तुत गरिएको छ।

संगीत, कथा लेखन र भावनात्मक धुन पनि निर्देशक स्वयंको सिर्जना भएकाले फिल्ममा एकरूपता र स्वाभाविकता अझ बलियो देखिन्छ।

फिल्ममा मुख्य भूमिकामा जय स्याङ्तान, अभि लामा, सिताराम गोले, अनिता गोले, कल्पना वाइबा र निर्मला मोक्तानको सशक्त अभिनय रहेको छ। साथै प्रबल थिङ, पूजा लामा, राजकुमार स्याङ्तान, चन्द्रमाया दोङ, मङ्गल ग्याबा, आकास मोक्तान, छबी लामा बोम्जन लगायतका कलाकारहरूको पनि उल्लेखनीय अभिनय देख्न सकिन्छ।

सिनेमाटोग्राफर तथा कलरिस्ट सूर्य लामाले तामाङ बस्ती, पहाड, प्राकृतिक दृश्य, चुलो–चौको र सामाजिक गतिविधिलाई ‘मूड–बेस्ड’ कलर टोनमा प्रभावकारी रूपमा उतारेका छन्। क्यामेराको हिँडाइ र ड्रोन शट्सले पात्रहरूको भावनालाई थप बलियो बनाएको छ।

फिल्मका गीत–संगीतमा शुभ तामाङ, सागर आले मगर, कार्साङ लामा दोङ, समर तामाङ, सुमिना लो, निर्मला घिसिङ र बबिता पाख्रिनको स्वर रहेको छ। शब्द, संगीत र भाव निर्देशक निमा लामा तामाङकै भएकाले चलचित्र संगीतको दृष्टिले पनि विशेष बन्ने देखिन्छ। एरेन्ज कार्साङ लामा दोङले गरेका छन्।

‘ह्याङ तामाङ (हामी तामाङ)’ केवल चलचित्र होइन—यो एक समुदायको इतिहास, वर्तमानको द्वन्द्व र भविष्यको आकांक्षाको कथा हो। चलचित्र विद्रोही चेत, सामाजिक अन्यायविरुद्धको आवाज र सांस्कृतिक पहिचानको खोजमा केन्द्रित रहेको निर्माण पक्षको भनाइ छ।

निर्माण टिमले सम्पूर्ण चलचित्रप्रेमी दर्शकलाई यो चलचित्र हेरेर समर्थन गर्न विशेष अनुरोध गरेको छ। उल्लेखनीय छ, चलचित्र यसअघि गत मंसिर २० गते हेटौंडामा सफल प्रदर्शन भइसकेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।